झापा । काम छाडेर जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालयमै टिकटक बनाउन थालेपछि त्यस किसिमको विकृतिलाई प्रतिबन्ध लगाउन झापामा तयारी थालिएको छ । आजकल मनोरन्जनको माध्यम बनेको टिकटकप्रति आफ्नो जिम्मेवारी र मर्यादा बिर्सेर जनप्रतिनिधि र कर्मचारीहरु मस्त भएपछि त्यसलाई रोक्नका लागि कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध लगाउने तयारी थालिएको हो ।
टिकटकले धेरै विकृति ल्याएपछि जिल्लाका कार्यालय प्रमुखहरुको बैठकमा टिकटकलाई प्रतिबन्ध लगाउने एजेन्डा नै लैजान लागिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनले नीति नै बनाएर टिकटकलाई प्रतिबन्ध लगाउन आबश्यक भएको बताए । ‘काम गर्न आएका कर्मचारीहरु टिकटक बनाउन लाग्दा समयको बर्बादीसंगै कार्यालयको गोपनीयता पनि भंग हुने खतरा छ’, उनले भने ।
‘सुरक्षा निकायका कर्मचारीहरु टिकटकप्रति अझ संवेदनशील हुनुपर्छ ’जिल्ला सुरक्षा समितिका प्रमुखसमेत रहेका प्रजिअ पोखरेलले भने,‘राष्ट्रसेवक कर्मचारीहरुले मनोरंजन गर्ने क्रममा सिंगो निकायको छवि बिगार्नु हुँदैन ।’
भर्खरै संचालनमा आएको बिर्तामोड नगर अस्पतालले अस्पतालभित्र आफ्ना कर्मचारीहरुलाई टिकटक बनाउन प्रतिबन्ध लगाइसकेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल अधिकारीले सबै कर्मचारीलाई त्यसबारे सचेत गराएका छन् ।
नगर अस्पतालसंगै नगरपालिका कार्यालय र त्यस मातहतका सबै कार्यालयहरुमा अब टिकटक बनाउन प्रतिबन्ध लगाइने नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् । यसअघि बिर्तामोडका केही कर्मचारीले आफ्नो र अरुको मर्यादाको ख्याल नराखी टिकटक बनाउने र फेसबुकमा भिडियो हाल्ने गरेको बताउँदै उनले त्यस किसिमको क्रियाकलाप अब गर्न नपाउनेगरी निर्णय पारित गरिने जानकारी दिइन् । स्थानीय तहका कर्मचारीसंगै जनप्रतिनिधिहरुले समेत कार्यालयमा टिकटक बनाउने गरेका छन् ।
आजकल रमाइलो गर्न टिकटक, केही नयाँ कुरा थाहा पाउन टिकटक, समाचार सुन्न÷हेर्न टिकटक, खाना बनाउन सिक्न टिकटक । यतिसम्म कि कुनै वस्तु वा सेवाको प्रचारका लागिसमेत सबैभन्दा राम्रो माध्यम बनेको छ टिकटक । तर, त्यहि टिकटकले धेरै विकृति भित्र्याएको छ ।
‘भाइरल’ हुने बहाना र चाहनामा गरिने हर्कतले टिकटकको दुरुपयोग भएको छ । टिकटकको दुरुपयोग बढेपछि अहिले पशुपति क्षेत्रसहित धेरै पर्यटकीय स्थल, धार्मिक स्थलहरुमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ ।
चिनियाँ कम्पनीको स्वामित्वमा रहेको टिकटकमाथि भारतले लामो समयदेखि नै पूर्ण प्रतिबन्ध लगाएको छ भने अमेरिका हुँदै पछिल्लोपटक डेनमार्कले पनि टिकटक एपलाई आफ्ना सरकारी उपकरणमा बन्देज लगाएको छ । यसका अलावा विश्वका अन्य मुलुकहरु पनि छन् जहाँ टिकटकमाथि प्रतिबन्ध लगाइएको वा कडा नियन्त्रणमा राखिएको छ ।
अफगानिस्तान, पाकिस्तान, ताइवान, युुरोपेली युनियन, क्यानडा, डेनमार्कलगायतका देशले टिकटकलाई कडा नियन्त्रणमा राखेका छन् ।