दिपक बोहोरा ।
पाँचथरमा झारा टार्दै १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरले औपचारीकता मात्र पुरा गर्दै प्रतियोगिता सम्पन्न गरेको छ । बिना तयारी,भद्रगोल व्यवस्थापनका बिच प्रतियोगिता सम्पन्न भएको हो । जिल्ला स्तरको प्रतियोगिता भए पनि व्यवस्थापन भने वडास्तरीय प्रतियोगिताको जति पनि नभएको सहभागीहरुले बताएका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिकामा पहाडी जिल्लामा माघ र फाल्गुन महिना भित्रमा प्रतियोगिता सम्पन्न गरिसक्नु पर्ने उल्लेख छ । तर जिल्लाको असफल नेतृत्वको कारण पाँचथरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा गरिएको छ । हिमाली जिल्लामा मात्र प्रतियोगिता चैत्र महिनामा गर्ने उल्लेख छ ।
एक महिना ढिला गरि भएको प्रतियोगिता पनि कमजोर व्यवस्थापनको कारण राम्रो हुन सकेन । औपचारीकता पुरा गर्न मात्र प्रतियोगिता आयोजना गरिएको जस्तो गरि प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रम उद्घाटनको दिन जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तान सहभागी बिद्यालय, खेलाडीहरु र टिमहरुको व्यवस्थापन भन्दा पनि राजनैतिक दलका नेताहरु खुसि बनाउन व्यस्त देखिन्थे । सहभागी टिमहरुको गुनासो सम्बोधन गर्नको साटो नेताहरुको स्वागत र बिदाइमा रमाइरहेका थिए ।
जिल्लाको नेतृत्व कमजोर बन्दा माघ र फाल्गु महिनामा सम्पन्न गरि सक्नु पर्ने प्रतियोगिता चैत्र महिनामा गर्दा बिद्यार्थीहरु परिक्षाको तयारी गर्नु पर्ने समयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । कुम्मायक गाउँपालिकामा चैत्र ६ गतेबाट परिक्षा सूरु हुँदै छ । हिलिहाङ गाउँपालिकामा चैत्र ७,फिदिम नगरपालिकामा चैत्र ७, तुम्बेवा गाउँपालिकामा चैत्र १२,फालेलुङ गाउँपालिकामा चैत्र ७,मिक्लाजुङ गाउँपालिकामा चैत्र १७ गतेबाट वार्षिक परिक्षा सुरु हुँदै छ । वार्षिक परिक्षाको समेत ख्याल नगरी जिल्ला खेलकुद विकास समिति पाँचथर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरि बिद्यार्थीहरुको पढाइ प्रति गैर जिम्बेवार बनेको हो ।
जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा फिदिम १० याङनाममा बुधबारबाट सुरु भएको प्रतियोगितामा पाँचथरका सात स्थानिय तहका बिद्यालयहरु सहभागी रहेका थिए । तुम्बेवा गाउँपालिकाले प्रतियोगितामा सहभागीता जनाएन् । सात स्थानिय तह मध्ये २० स्वर्ण,१६ रजत,५ कास्य पदक जित्दै फिदिम नगरपालिका प्रथम भएको छ । ११स्वर्ण,५ रजत,६ कास्य पदक जित्दै याङवर दोश्रो भयो । ६ स्वर्ण,५ रजत र ३ कास्य सहित फाल्गुनन्द तेस्रो हुन सफल भयो । ६ स्वर्ण,३ रजत, ४ कास्य जित्दै मिक्लाजुङ चौथो हुदाँ ४ स्वर्ण,३ रजत र ४ कास्यको साथमा कुम्मायक गाउँपालिका पाँचौ भयो । २ स्वणर्,४ रजत र २ कास्य पदक जित्दै फालेलुङ छौटो भयो ।