तेह्रथुम । प्रथम आठराई गाउँपालिका अध्यक्ष कप पुरुस फुटबलको उपाधि फेदाप गाउँपालिकाले जितेको छ । आठराई २ झाँक्री गुफास्थित खेलमैदानमा भएको फाइनल खेलमा आठराई गाउँपालिकाको ‘ए’ टिमलाई २-० गोलले पराजित गर्दै फेदापले उपाधि रक्षा गरेको हो ।
बुधबार भएको फाइनल खेलमा फेदापका लागि पहिलो हाफको २३औँ मिनेटमा सन्देश फोम्बोले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै खेलको ५३औँ मिनेटमा रेमन लिम्बूले थप गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । विजेता फेदापले नगद १ लाख ५० हजारसहित रनिङ कप हात पारेको छ ।
उपविजेता आठराई गाउँपालिकाले नगद १ लाख र ट्रफीमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक संगीन लिम्बू घोषित भए भने निशान लिम्बू उत्कृष्ट खेलाडी बने । सर्वाधिक गोलकर्ता नव कोपिला युवा क्लबका विजय गिरी बने । उनले २ खेलमा ५ गोल गरेका थिए ।
प्रथम आठराई अध्यक्ष कप : महिला फुटबलको उपाधि पोखरी मावि छातेलाई
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको महिलातर्फको उपाधि पोखरी मावि छातेले रक्षा गरेको छ । फेदाप खेलकुद विकास समितिलाई १-० गोलले पराजित गर्दै छातेले उपाधि रक्षा गरेको हो ।
बुधबार भएको फाइनल खेलमा छातेका लागि मनिता कन्दङ्वाले गरेको गोल नै उपाधि रक्षाका लागि निणर्यक सावित भयो । खेलको ५औँ मिनेटमा मनिताले फेदापविरुद्ध गोल गरेकी थिइन् ।
प्रतियोगिताको विजेता छातेले नगद ६० हजार र रनिङ ट्रफी पाएको छ भने उपविजेता फेदापले नगद ४० हजार र ट्रफीमा चित्त बुझायो ।