काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो । ‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई विदेश नजानका लागि निर्देशन दिनुभयो, स्वेच्छाले सरकार छाड्ने वा विनाविभागीयमन्त्री बनाउने सम्मका कुरा गर्नुभएपछि हामी सरकारमा बसिराख्नु उचित देखिएन’ उपाध्यक्ष पौडेलले भने ।