पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेच्ने गिरोहलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । उक्त गिरोहले मोटरसाइकल चोरी गरि पार्टपुर्जाहरु खोली, काटी स्वरुप परिवर्तन गर्ने गरेको प्रहरीले जनाएको छ । पाँचथर प्रहरीे टोलीले पाँचथर र तेह्रथुम जिल्लाका विभिन्न स्थानमा विशेष ‘अपरेसन’ सञ्चालन गरी मोटरसाइकल चोरी गर्ने गिरोहका आठ जनालाई पक्राउ गरेको हो । टोलीले सदरमुकाम फिदिम बजार बाट २०७९ माघ २७ गते राती चोरी भएको मे.१० प.९१९१ र प्र.१-०३-००१ प.२७५० नम्बरको हराएको मोटरसाईकल बेवारीसे अवस्थामा फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
फिदिम बजार क्षेत्रहरुबाट मोटर साइकल चोरी कार्यमा संलग्न जिल्ला तेह्रथुम आठराई गाउँपालिका वडा न.४ वस्ने वर्ष २३ को श्रीप्रसाद तामाङ, तेह्रथुम आठराई गाउँपालिका वडा न.४ वस्ने वर्ष १९ को शिब कुमार तामाङ, तेह्रथुम आठराई गाउँपालिका वडा न.४ वस्ने वर्ष २० को सुरज पुर्वछाने मगर , तेह्रथुम आठराई गाउँपालिका वडा न.४ वस्ने वर्ष २१ को बासुदेव तामाङ, तेह्रथुम आठराई गाउँपालिका वडा न.४ वस्ने वर्ष २१ को पबिन ईङनाम , जिल्ला ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा न. १ घर भई हाल जिल्ला तेह्रथुम आठराई गाउँपालिका वडा न.४ बस्ने एनमान दियाली , जिल्ला ईलाम फाकफोकथुम-२ घर भई हाल जिल्ला तेह्रथुम आठराई गाउँपालिका वडा न.४ मा दुध डेरी संचालन गरी वस्ने वर्ष २७ को तारा बस्नेत र जिल्ला पाँचथर फालेलुङ गाउँपालिका वडा न.५ घर भई हाल फिदिम-१ स्थित ग्यारेज संचालन गर्ने बर्ष २८ को बिरेन्द्र राना लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक ब्रम्हदेव साहले जानकारी दिए ।
उनीहरुको साथबाट को.३२ प.३७८४ नम्बरको रातो रङको १५० सिसि को पल्सर मोटरसाईकल , प्र.१-०१-०१४ प.३७९१ नम्बरको १५० सिसि को पल्सर मोटरसाईकल, मे.१० प.१६७० नम्बरको २२० सिसिको पल्सर मोटरसाई , मे.४.प.३४५० नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल , को.३९ प.६४१९ नम्बरको प्लेट लगाएको २२० सिसिको निलो रङको पल्सर मोटरसाईकलको, मे.४.प.३०५४ नम्बरको १५० सिसिको निलो रङको पल्सर मोटरसाईकल, को.३३ प.९२७५ नम्बरको २२० सिसि को पल्सर मोटरसाईकल बरामद भएको प्रहरी निरीक्षक साहले बताए ।
उनका अनुसार, उक्त गिरोहले २२० सिसीको मोटरसाइकलमै धेरै आँखा लगाउने गरेका थिए । त्यसरी चोरी भएका मोटरसाइकल पाँचथर र तेह्रथुमबाट बिक्री गर्ने गरेको पाइएको छ । प्रहरीले बरामद गरेका मोटरसाइकल पनि पाँचथर र तेह्रथुम जिल्लाबाट झिकाएको हो । पक्राउ परेका व्यक्तीहरुलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।