रानीटार । फिदिम नगरपालिका-७ मा रहेको रानीटार माध्मिक विद्यालयले विभिन्न विधामा सम्मान प्रदान गरेको छ । प्राकृतिक रुपमा सुन्दर रहेको रानीटार माविको प्राङ्गणबाट ८३ जनालाई सम्मान गरीएको हो ।
विद्यालयका जग्गादाता, स्थापनाकाल देखिका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, पुर्व शिक्षक/शिक्षिका, बिद्यालयमा अध्ययन गरेर विभिन्न ठाँउमा पुगेका पूर्व विद्यार्थीलाई सम्मानित तथा प्रसंशित गरिएको थियो । विद्यालयमा अध्ययनका क्रममा मृत्यु भएका परिवारका आफन्तलाई स्मरण पत्र प्रदान गरिएको थियो ।
सोहि अवसरमा २८ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको थियो । विद्यार्थीले विभिन्न जातजातीका संस्कृतीमा आधारीत सांस्कृतीक नृत्य प्रस्तुत गरेका थिए । विद्यालयमा सोमबार र बुधवार जातिय पहिचानमा आधारित पोशाक युनिफर्मको रुपमा लागु गरिएको प्रध्यानाध्यापक भक्त बहादुर राईले जानकारी दिए । विद्यार्थीहरुले केलाङ, साकेला, सेलो, संगीनि, गुरुङ संस्कृतीमा आधारीत नृत्य प्रस्तुत गरेका थिए । ध्वानी नृत्य लगायतका सास्कृतीक प्रस्तुती राखिएको थियो ।
विद्यालयका शिक्षिकाहरुले स्वागत नृत्य गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालीकाका प्रमुख मित्रप्रसाद काफ्लेले सामुदायिक विद्यालयको गुणस्तर सुधार प्रमुख बिषय भएको धारणा राखेका थिए । बिद्यालयको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावकलाई आव्हान गर्दै नगरपालिकाले प्रयास गरेको बताएका थिए । कार्यक्रमले पूर्व विद्यार्थी, शिक्षकको पुनर्मिलन गराएको थियो । नजिकका विद्यालयका शिक्षक, बिद्यार्थी पनि सहभागी थिए ।
कार्यक्रममा बोल्दैँ नगर उप-प्रमुख राधाकृष्ण न्यौपानेले विद्यालयका अग्रजहरुलाई सम्झनु महत्वपूर्ण भएको भन्दैँ विद्यालयलाई गुणस्तरीय बनाउन सबैलाग्नु पर्ने बताएका थिए । कार्यक्रममा बोल्दै फिदिम-७ का वार्ड अध्यक्ष रूपेन्द्र तामाङले अतिरिक्त क्रियाकलापका साथै राम्रो नतिजा हासिल गर्न प्रयास गर्नु पर्ने बताएका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।