तुलसी सिटौला (आठराई)। आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ दोरपमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना भएको छ। आठराईको सक्रान्ति बजार सेवा केन्द्रबाट मात्र आयुर्वेदिक औषधिको सेवा लिँदै आएका सेवाग्राहीहरुले अब भने खाम्लालुङ दोरपबाट पनि सेवा लिन पाउने भएका छन्।
आठराई गाउँपालिका वडा नं दुइका सेवाग्राहीहरुलाई आयुर्वेदिक औषधिको सहज पहुँच पुर्याउनका निम्ति आठराई गाउँपालिकाले उक्त केन्द्रको स्थापना गरेको हो। आइतबार एक कार्यक्रमका बिच उक्त आरोग्य सेवा केन्द्रको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पहिमले उद्घाटन गरेका थिए ।
एक जना इन्चार्ज र एक का.स. दरबन्दी सहित स्था[पना गरिएको आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरुले साठी किसिमका आयुर्वेदिक औषधि निःशुल्क पाउनेछन्। उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै पालिका अध्यक्षले आठराईवासीहरुका लागि स्वास्थ्यको पहुँच सहज रूपमा पुर्याउनको निम्ति केही समयअगाडि आठराई गाउँपालिका-५ छातेढुङ्गा टुँडिखेल र आठराई गाउँपालिका २ खाम्लालुङ पाक्तिनमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिसकेको र सेवा दिइरहेको बताए।
आयुर्वेदिक औषधिले कुनै पनि साइड इफेक्ट नगर्ने र हाम्रो समाजको पुरानो ओषधी प्रणाली भएको हुनाले आवश्यकता महसुस गरी उक्त आरोग्य केन्द्रको स्थापना गरेको बताए।