विराटनगर ।प्रदेश १ ले आज उपसभामुख पाउँदै छ। त्यसका लागि आज निर्वाचन हुँदै छ। प्रदेशसभाको आज बिहान ११ बजे बस्ने बैठकमामार्फत उपसभामुखको चयन गर्ने क्रार्यक्रम छ। प्रदेश १ को उपसभामुखमा दुई जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट एमाले नेता सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराएकी छन् भने एकीकृत समाजवादी पार्टीको साथ लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लीलाकुमारी राईलाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनर विपक्षी दुवैले अघि सारेका उपसभामुख उम्मेदवार उदयपुरवासी हुन्। प्रदेश १ को उपसभामुखको निर्वाचन आज बिहान ११ बजेका लागि तोकिएको छ।
दलीय भागबन्डामा सत्तारुढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ।
एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ जना प्रदेशसभा सदस्य छन्। उता कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ गरी २५ सांसद छन्।
९२ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ जना आवश्यक पर्छन्।
सभामुख र उपसभामुख चयन गर्दा दुईमध्ये एक महिला हुनुपर्ने व्यवस्था धारा १८२ को २ मा छ। जसअनुसार सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम चयन भइसकेकाले अब उपसभामुख महिला हुनु अनिवार्य छ।
प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। प्रदेश १ प्रदेशसभाको पहिलो बैठक यही पुस १७ गते बसेको थियो।