विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य प्रदेश १ मा मन्त्री बनेका छन् । आचार्य दाहालकी कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । माओवादी केन्द्रले आज सरकारमा सहभागीता जनाएको छ । माओवादी केन्द्रका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री नियुक्त भएका हुन् । मन्त्रीहरूको जिम्मेवारी भने तोकिएको छैन ।
माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाई र मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त भएका हुन् ।
एमालेकै उम्मेदवारलाई हराएर प्रदेशसभा सदस्य बनेका आचार्य अहिले एमाले नेतृत्वकै सरकारमा मन्त्री बनेका छन् । प्रदेशसभा चुनावमा आचार्यले एमालेका रीता न्यौपानेलाई हराएका थिए । उनले १९ हजार ८८३ मत प्राप्त गर्दा न्यौपानेले १७ हजार ५७१ मत प्राप्त गरेकी थिइन् । अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा कांग्रेसका चुमनारायण तवदारसँग पराजित भएका आचार्य यस पटक कांग्रेसकै साथ पाएर विजयी भएका थिए ।