पाँचथर । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने छोटो सडकको रुपमा लिइएको चतरा–मुलघाट–गणेशचोक सडक (तमोर कोरिडोर) कालोपत्रे गर्ने काम अघि बढेको छ । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १० किलोमीटर सडक कालोपत्रे गर्नका लागि ठेक्का लागेको आयोजना प्रमुख कुबेर नेपालीले जानकारी दिए ।
उनका अनुसार दुई प्याकेजमा ठेक्का लागेर काम अघि बढेको छ । निर्माण क्षेत्रमा निर्माण व्यवसायीले गतिविधि अगाडि बढाएको उनले जानकारी दिए । आर्थिक र रणनीतिक महत्वको सडकको रुपमा तमोर करिडोरलाई लिइन्छ । तमोर नदीको किनारै किनार गणेश चोकदेखि चतरासम्मको सडक बनाइएको छ । धरानदेखि मुलघाटसम्म सडक कालोपत्रे भएकाले कोसी राजमार्गदेखि मेची राजमार्गसम्मको सडक कालोपत्रे गर्न लागिएको हो ।
यो सडकलाई पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा लिइन्छ । गत वर्षमात्र ट्«याक निर्माण सम्पन्न भएको थियो । अहिले सो सडकमा गाडी कुद्न थालेका छन् । पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका बासिन्दालाई धरान, प्रदेश राजधानी विराटनगर तथा काठमाडौंलगायतका ठाउँको यात्राका लागि दूरी छोटिएको छ । सुविधा सम्पन्न अस्पतालसँगको दूरी पनि यो सडकले छोट्याउने छ ।
‘मुलघाटदेखि हाङठुवासम्मको ६६ किलोमीटर खण्डमा ठेक्का सम्झौता भएको तीन महिना भएको र बाँकी खण्डको सम्झौता भएको एक महिना भई काम सुरु भएको छ’, नेपालीले भने, ‘केही किलोमीटर भए पनि यहि वर्ष कालोपत्रे सुरु हुन्छ । बजेटको अभाव छैन् ।’
३ अर्ब ६४ करोड लागतको ठेक्का सम्झौता भएको हो । ६६ किलोमीटर रौतहा क्षमादेवि जेवीले २ अर्ब ४० करोडमा र बाँकी खण्डमा एफएक्स कम्पनीले १ अर्ब २४ करोडमा ठेक्का सम्झौता गरेको नेपालीले जानकारी दिए ।
तराई, प्रदेश र संघीय राजधानीलाई पूर्वी पहाडसँग जोड्ने सडक छोट्याएको छ । कालोपत्रे सम्पन्न भए थप सुविधा पुग्ने आशा राखिएको छ । यो सडक कालोपत्रे निर्धारित समयमा सम्पन्न हुन सके पूर्वी पहाडका बासिन्दाई थप सेवा पुग्ने बताइन्छ । ‘यो सडक छोटो भएकाले सेवा विस्तार भएको छ । सडक आसपासमा क्षेत्रमा आर्थिक गतिविधि बढ्दै जाने अपेक्षा राखिएको छ’, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेले भने, ‘उद्योगधन्दा स्थापना गर्नलाई सहयोग पुग्ने देखिन्छ ।’
यो खण्डमा पर्ने पुलको पनि ठेक्का लागिसकेको छ । चतरादेखि गणेशचोक १ सय ५८ किलोमीटर खण्डमध्ये १ सय १० किलोमीटर खण्ड कालोपत्रे हुने भएको हो । । मुलघाटदेखि चतरा खण्डको भने कालोपत्रेको ठेक्का खुलेको छैन । तमोर कोरिडोर चतरादेखि पाँचथरको सुभाङखोला हुँदै ताप्लेजुङको ओलाङचुङ गोलहुँदै चीनको सिमाना टिप्तलासम्म अघि बढ्छ । यो सडक सम्पन्न हुँदा उत्तर–दक्षिण जोड्ने छोटो सडक हुनेछ ।
चतरा–गणेशचोक खण्डको सडक ग्राबेलस्तरको बनेपछि यहाँ चहलपहल बढ्दै गएको थियो । धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका बासिन्दाका लागि यो सडक महत्वपूर्ण मानिन्छ । यो सडकको ट्र्याक खोल्न ६ अर्ब १५ करोड १४ लाख मा ठेक्का लागेको थियो । पहाडी जिल्ला सडक नपुगिन्जेल नुन किन्न धरान जाने गडतिरको बाटोमा अहिले सडक बनेको छ ।