झापा । खाना नपकाएको निहुँमा श्रीमानले श्रीमतीलाई लात्ति प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका वडा नं १ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ खरबन्दिमा डेरा गरी बस्ने ३५ वर्षीय विश्वराज घिसिङले आफ्नी ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङलाई लात्तिले हानेर हत्या गरेका छन् ।
श्रीमतीले समयमा खाना नपकाएको निहुँमा झै-झगडा हुँदा श्रीमानले लात्तिले पेटमा हान्दा प्रमिलाको सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।
लात्ति हान्ने श्रीमान् विश्वराज घिसिङलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।