विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शपथ ग्रहण गर्ने भएका छन् । उनलाई आज दिउँसो २ बजे प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउने तयारी गरेका छन् ।नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ग्रहणका लागि आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक मंगलबार ११ बजेसम्मका लागि सूचना टाँसेर प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले सारेका हुन् ।
कार्कीसँगै अन्य ४ जना मन्त्रीले समेत शपथ ग्रहण गर्ने तयारी गरिएको छ । नवनियुक्त मुख्यमन्त्रीले ५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । उनले एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीबाट १/१ जना मन्त्री नियुक्त हुने बताएका हुन् ।
मन्त्रीमा एमालेबाट ताप्लेजुङ १(१) बाट निर्वाचित तीलकुमार मेन्याङ्बो, माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गाप्रसाद चापागाई, राप्रपाबाट दलका नेता झापाका भक्तिप्रसाद सिटौला र जनता समाजवादीका एक्ली प्रदेश सांसद निर्मला लिम्बूले शपथ लिने तयारी गरेका हुन् ।