पाँचथर । पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ चौथो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाए । झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए ।
पाँचथर जिल्ला सदरमुकाम फिदिममा २०१८ चैतमा जन्मिएका वसन्तकुमार नेम्वाङ ३० वर्षमै संसद सदस्य भए । पहिलो पटक २०४८ मा पाँचथरबाट संसदमा निर्वाचित उनी २०५६ र २०७४ सालमा पनि सांसद चुनिए । उनी तीन पटक नै नेकपा (एमाले)बाट सांसद बनेका थिए ।२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने नेम्वाङले टिकट पाएनन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि एमालेले फेरि उनैलाई पाँचथरको टिकट दिएको छ ।
फिदिममै प्रवेशिका परीक्षा उत्तीणर् गरेर २०३६ सालमा कानुन पढ्न काठमाडौंको नेपाल ल क्याम्पसमा भर्ना भएपछि नेम्वाङ राजनीतिमा तानिएका थिए । विद्यार्थी आन्दोलनले बेस्सरी तताएको थियो, त्यो बेलाको काठमाडौंलाई । त्यो माहोलमा अनेरास्ववियूमा संगठित भएर आन्दोलनमा होमिए नेम्वाङ पनि ।
कानुनमा स्नातक भएर केही समय वकालत पनि गरेका उनले २०४७ पुसमा पार्टीको संगठित सदस्यता पाए । त्यसयता उनी पाँचथर जिल्ला कमिटी सदस्य, प्ररायुसंघको केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रीय ऊर्जा विभागको सदस्य सचिवलगायत जिम्मेवारीमा रहे । अहिले केन्द्रीय सदस्य छन् ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनको प्रशासनिक सल्लाहकारमा नियुक्त भएका नेम्वाङले ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुने अवसर पाए । उनी ८ फागुन २०७६ देखि २९ असोज २०७७ सम्म मन्त्री रहे ।
उनले २०७८ असारमा केही दिन सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय र खानेपानी विकास मन्त्रालयको पनि नेतृत्व गर्ने अवसर पाए ।