विभिन्न अनलाइन तथा प्रिन्ट मिडियामा प्रकाशित समाचार भन्दै विभिन्न व्यक्तिहरूले फेक न्युज फैलाउन थालेको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त विज्ञप्ति निकालेर त्यसको खण्डन गरेका छन् ।
केही अनलाइन र प्रिन्ट मिडियामा माओवादी केन्द्रका उम्मेदवारलाई मत नदिन गोप्य सर्कुलरलगायतका समाचार छापिएको भन्दै सामाजिक सञ्जालमा केही व्यक्तिहरूले ‘स्क्रिन सट’ राखेका थिए । तर, सम्बन्धित मिडियाका जिम्मेवार व्यक्तिहरूले ती समाचार फेक भएको र फोटोसप प्रयोग गरेर सेयर गरिएको जनाइसकेका छन् ।
सोही विषयमा संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस र माओवादी केन्द्रका मुख्य सचिवहरूले खण्डन गरेका हुन् । ‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठवन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् ।’
निर्वाचनको अन्तिम समयमा मतदातामा अन्योल सिर्जना गर्न यस्तो प्रचार गरिनुले पराजयको मानसिकता पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । ‘निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’
विज्ञप्तिमा भनिएकव छ, ‘यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउछौँ । साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कार्वाहीका लागि समेत सरकारसँग माग गर्दछौँ ।’