पाँचथर । पाँचथरमा राजनैतिक विराशत बोकेको एक नाम हो भिष्मराज आङदेम्बे । बि.पि कोइरालाको मन्त्रीपरिषदमा उनका बडिवा प्रेमराज आङदेम्बे मन्त्री थिए । आङदेम्बेका बाजे देवमान आङदेम्बे पनि मन्त्री भए । पाँचथरको नवमिडाँडामा २०२२ सालमा जन्मीएका भिष्मराज आङदेम्बे पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेता हुन् । संसदिय निर्वाचनमा उनि चौथो पटक प्रतिस्पर्धामा छन् ।
आङदेम्बेले काठमाण्डौको ल क्याम्पसबाट विएल सम्म मा अध्ययन गरेका छन् । २०३६ साल देखि नेविसंघ मार्फत नेपाली कांग्रेसको राजनितीमा सक्रिय रहेका आङदेम्वे नेविसंघका केन्द्रिय सदस्य ,तरुण दलको केन्द्रिय सदस्य हुदै नेपाली कांग्रेसको केन्द्रिय महामन्त्री बनेका हुन् ।
आङदेम्वे तत्काली नेपाली कांग्रेस प्रजातन्त्रिक को ११ महाधिवेशन वाट केन्द्रिय सदस्यमा निर्वाचित वने । पार्टि एकिकरण पछि भएको वाह्रौ अधिवेशनमा पनि उनि केन्द्रिय सदस्य भए । पार्टीको आदिवासी जनजाती विभागका प्रमुख समेत रहेका थिए । तेह्रौ अधिवेशनमा पनि उनि केन्द्रिय सदस्य भए । २०७८मा भएको पार्टीको अधिवेशनमा पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । जिल्लामा उनको समकालीन नेताहरुमा ठुलो पार्टीबाट केन्द्रीय पदाधिकारीमा निर्वाचित जिल्लाका पहिलो नेता समेत हुन् ।
आङदेम्वे युवा पुस्ताका प्रभावशाली नेताको रुपमा परिचित छन् । आङदेम्बे २०७४ सालमा भएको निर्वाचनमा वामगठबन्धका उम्मेद्धार बसन्तकुमार नेम्बाङ संग १० हजारमतले पराजित भएका थिए । २०७४ सालमा पराजित भिष्मराज आङदेम्बेको राजनीतिक पहिचान पनि यो पटक फेरिएको छ । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका अति निकट मानिन्छन् ।
२०५६ सालमा पहिलो पटक संसदमा कांग्रेसको तर्फबाट उठेका आङदेम्बे नेकपा एमालेका डम्बरसिं सम्हाम्फे सँग पराजित भएका थिए । २०६४ मा भएको पहिलो संविधान सभाको चुनाबमा पनि नेकपा एमालेका डम्बरसिं सम्हाफे सँग पराजित भएका थिए । २०७० मा भएको दोश्रो संविधान सभाको चुनाबमा एमालेका डम्बरसिं सम्हाम्फेलाई पराजित गरेका थिए । २०७० सालमा उक्त क्षेत्रमा कांग्रेसलाई ५५ वर्ष पछि जिताउदै आङदेम्बेले इतिहास निर्माण गरेका थिए । उक्त क्षेत्रमा २०१५ सालमा कांग्रेसका प्रेमराज आङदेम्बेले जिते यता कांग्रेसले जित्न सकेको थिएन् ।
२०७४ सालको संघीय चुनावमा एमालेका नेम्बाङले फराकिलो मत अन्तरले कांग्रेसका आङदेम्बेलाई पराजत गरेका थिए । नेम्बाङले ३८ हजार ६ सय १६ मत पाउँदा आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गरेका थिए । दुई नेताबीच १० हजार ५ सय ८१ मतान्तर थियो ।
२०७४ को संघीय निर्वाचनको मत परिणाम
वसन्तकुमार नेम्बाङ ३८ हजार ६ सय १६ मत
भिष्मराज आङदेम्बे २८ हजार ३५ मत
मतान्तर १० हजार ५ सय ८१
गत निर्वाचनमा आफु बिरुद्ध रहेको नेकपा माओबादी केन्द्रले यस पटक कांग्रेस सँग गठबन्ध गर्दा आङदेम्बे उत्साहित छन् । साथै आङ्देम्बेलाई नेकपा एकीकृत समाजवादीको समर्थन छ भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ । पाँचथरमा स्थानिय तहको निर्वाचनमा गठबन्धनले राम्रो नजिता ल्याएको थियो । स्थानिय तहको चुनाबमा जिल्लाका ८ पालिकामध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक-एक पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिकासहित फिदिम नगरपालिका जितेको छ ।त्यस्तै, माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिकामा निर्वाचित भएको छ ।
लामो राजनितिक इतिहास बोकेपनि आङदेम्बे २०७० मा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति हुनुनै उनको सबैभन्दा ठुलो सफलता हो । कांग्रेस नेता आङ्देम्बेले चुनाव जितेमा आफू मन्त्री हुने र पाँचथरको विकास गर्ने लक्ष लिएको बताउछन् । यसअघि संविधान सभा सदस्यको हैसियतमा संविधान निर्माणमा महत्वपूणर् योगदान दिएको छु,’ आङ्देम्बे भन्छन्, ‘अहिलेसम्म निर्माणको काम गर्ने ठाउँमा हालसम्म नपुगेकाले पाँचथरे जनताले सोचेअनुरुप काम गर्न सकिन, यो पल्ट त्यो अवसर आएको महसुस गरेको छु ।’
पाँचथरका विभिन्न रुटमा साइक्लिङ लगायतका साहसिक खेलको सम्भावना रहेको, जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गरेर ठूलो रोजगारीको सम्भावना रहेको आङ्देम्बेले बताएका छन् ।