ताप्लेजुङ । फुङलिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल कुनै बेला सदरमुकाममा सुन पसल गर्थे । त्यही भएर कंञ्चन मनी ट्रान्सर्फरबारे जानकार थिए । किनकी त्यहाँ उनले सुन कारोवार तथा लेनदेन धेरै पटक गरेको प्रहरीसमक्ष स्विकार गरे । त्यहाँ जाँदा ब्याक ढोका (कर्मचारीले मात्र आवतजावतमा प्रयोग गर्ने ढोका) प्रयोग गर्थे ।
सुन र नगद राख्ने दराजबारे भेउ पाएका थिए । समयक्रमअनुसार उनी काठमाडौमा थिए । एकदिन साथीहरुसँग काठमाडौमै योजना बनाए । बाँकी ३ जनालाई लुटपाट गर्ने योजनामा त्यही कन्भिन्स गराए । उनीहरु झापामा आएपछि आइएमईको बारेमा विस्तृत योजना बनाए । गाडी चढेर आए । सदरमुकामस्थित एक होटलमा बास बसे । उनीहरुमध्ये एक जनाले आइएमई कर्मचारीलाई फोन गरेर जाकेट राखेको सुन उकास्न आउने सुचना दिए । उनीहरुले टिपाएको नाम भएका व्यक्तिको सुन जाकट रेकर्डमा नभएको कर्मचारीले सुनाए । उनीहरुमध्ये एक जनाले फेरि अर्को नाममा सुन जाकेट राखेको नाम दिए । कर्मचारीले अर्को दिन आउन आग्रह गरे । असोज १७ गते विहान बजार केही सुनसान थियो । पर्तेलसहित ४ जना आइएमई आउनुअघि योजना बनाए । उनले हुलाक टोलबाट आउँदा आफूलाई चिन्ने भएकाले अर्कै बाटो आए । सुरुमा २ जना ब्याक ढोकाबाट प्रवेश गरे ।
जाकट राख्न दिएको व्यक्तिको नाम खातामा हेर्न थाले । लगत्तै बाँकी २ जनाले कर्मचारीलाई नियन्त्रणमा लिए । एक जनाले सिसी क्यामेराको तार चुडाउन टेबलमाथि चढे । र क्यामराको तार चुडाए । मुखमा मास्क लगाएकाले क्यामेरामा कैद भएका व्यक्तिलाई सजिलोगरि चिन्न कठिन बन्यो । उनीहरु सबै जना अग्रिम योजना अनुसार निर्माणाधिन बसपार्कमा भेला भए । तीमध्ये पर्तेलले सवै सामान बोक्ने र काठमाडौमा पुगेर बाँडफाँड गर्ने योजना अनुसार छुट्टिएका थिए । तर तीन जना नौलो भएकाले भुगोलबारे अनभिज्ञ हुँदा कहाँ जाने र कसरी भाग्ने भन्नेमा अन्यौलमा परे । क्षणभरै प्रहरी सोही स्थानमा घुमफिर गर्न थाल्यो । प्रहरी उक्त स्थानमा घुमफिर गर्न थालेको अलैचीबारीबाट पर्तेलले देखे । र,साथीहरुलाई फोनमा एसएमएस गरेर प्रहरीले पछ्याईरहेको सुचना दिए । केहीबेरमै सशस्त्र प्रहरी र नेपाल प्रहरीले पर्तेललाई नियन्त्रणमा लियो । उनको साथमा रहेको मोवाइलबाट बाँकी ३ जना कहाँ छन भन्ने सुचना संकलन गर्न प्रहरीलाई सहज बन्यो । अन्ततः ३ जनालाई पक्राउ गर्न प्रहरी सफल भए । फरार १ जनाको खोजी तिव्र पारेको प्रहरीले जनायो ।