काठमाडौँ । नाबालिग किशाेरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएकाे १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारकाे दाेहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे ।
२०७९ भदाै २१ मा एक किशाेरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीकाे आराेपमा काठमाडाैं प्रहरी वृत्त गाैशालामा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदाै ५ गते तिलगंगाकाे एक हाेटलमा बलात्कार गरेको भन्दै पीडितले दिएकाे जाहेरी प्रहरीले भदाै २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकाेमा भदाै २३ मा काठमाडाैं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएकाे थियाे ।
अदालतले पक्राउ अनुमति दिएलगत्तै प्रहरीले लामिछानेलाई फरार सूचीमा राख्याे भने नेपाल क्रिकेट संघ(क्यान)ले कप्तानबाट निलम्बन गरेकाे थियाे । निलम्बन हुनुअघिसम्म क्यानकाे सम्पर्कमा रहेका लामिछाने त्यसपछि भने सम्पर्कविहीन भएका थिए । उनी प्रहरी र क्यान दुवैकाे सम्पर्कमा नआएपछि विमानस्थल अध्यागमन कार्यालयले पनि उनलाई कालाे सूचीमा राख्याे । अनि मात्रै भदाै २४ गते फेसबुक र ट्वीटरमार्फत आफू निर्दाेष रहेकाे र कानुनी लडाइँ लड्न छिट्टै नेपाल आउने बताएका लामिछानेलाई नेपाल नफर्किएपछि प्रहरीले गत असोज ७ मा इन्टरपाेलकाे डिफ्युजन नाेटिसमा राखेर विश्वभरका प्रहरीमार्फत खाेजी अघि बढाएकाे थियाे ।