गोर्खा । अमेरिकाको मासाचुसेट्स राज्यको ७ कक्षाको सरकारी पाठ्यक्रममा अमेरिका निवासी गोर्खाकि चेली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । उक्त राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा परियारबारे पाठ समावेश गरिएको छ ।
विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको च्याप्टरमा परियारको बारेमा तयार पारिएको बृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको छ । भिडियो र स्लाइड शोको माध्यमबाट पढाइने उक्त पाठमा परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने ८ वटा स्लाइडहरु समेत समावेश गरिएको छ ।यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयहरुमा उपलब्ध रहेको छ भने आगामी बर्षदेखि राज्यका धेरै विद्यालयहरुमा लागु गरिदैछ ।
संयुक्त राष्ट्रसंघको सतत विकाश लक्ष्यको १० नम्बरमा रहेको असमानता हटाउने विषयमा पाठ लक्ष्यीत गरिएको छ ।सन् १८८८ मा स्थापित म्याक ग्र हिलबाट प्रकाशित पुस्तकहरु विश्वभरका ११ सय बढी शिक्षण संस्थाहरुले कोर्सबुकका रुपमा प्रयोग गर्दै आएका छन् ।
डाक्टर परियारको जीवनकथा समेटिएको यो पुस्तकमा राम्रो लेखक बन्नका लागि विद्यार्थीहरुले जान्नुपर्ने लेखन प्रकृयाबारे उल्लेख गरिएको छ ।
पुस्तकको मूल्य ७० अमेरिकी डलर रहेको छ । पुस्तककी लेखिका डाक्टर लिसा हफ्नर सन् १९९८ देखि टेक्सासको म्याकलेनन कम्युनिटी कलेजमा प्रोफेसर छिन् ।
डाक्टर परियारले हडसन स्पीक्समा घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध निर्देशकका रुपमा काम गर्दै आएकी छिन् । दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी मेयरका सल्लाहकार समितिमा रहेर समेत काम गरिन् । त्यस्तै उनी जर्सी सिटी सहरको महिला आयोग सदस्य समेत हुन् । उनी अमेरिकाको न्युजर्सी राज्यको एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डर एएपिआई आयोगमा कमिश्नर समेत हुन् ।
डा. विष्णुमाया परियारले आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका ५० हजार महिला र २३ हजार भन्दा धेरै बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू सन्तालन गरी लाभान्बित गरिसकेको छ ।