काठमाडौँ ।स्वतन्त्र उम्मेदवार बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी हुने निश्चित भएको छ।दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बालेनले आगामी ५ वर्षका लागि काठमाडौं मेयर पद पक्का गरेका हुन्।
काठमाडौं महानगरपालिकामा खसेको १ लाख ९१ हजार १२५ मतमध्ये अब १९ हजार ३२३ मत मात्रै गन्न बाँकी छ। यो अवस्थामा बालेनले ५५ हजार ७४७ मतसहित फराकिलो अग्रता बनाइरहेका छन्।
बुधबार बिहानसम्मको मतपरिणाम अनुसार बालेनले ३२ प्रतिशत मत पाउँदै जित पक्का गरेका हुन्। अब १९ हजार ३२३ मत गन्न बाँकी रहँदा उनले दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ३७६ मतले अग्रता बनाएका छन्।
उता तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितभन्दा बालेनले २१ हजार १२१ मतले अग्रता बनाइरहेका छन्।
यो अवस्थामै बालेनले मेयर पद पक्का गरेका हुन्। अब बाँकी रहेको १९ हजार ३२३ मत सबै सिर्जनाको पक्षमा पर्दा पनि बालेनलाई जित्न अझै १०५३ मत अपुग हुन्छ।
अर्कातिर केशव स्थापितको पक्षमा सबै १९ हजार ३२३ मत परेमा पनि अब उनले बालेनलाई भेटाउन सक्ने छैनन्।
यो अवस्थामा बाँकी रहेको १९ हजार ३२३ मत परेमा पनि बालेनलाई भेट्टाउन स्थापितलाई अझै १७ सय ९८ मत अपुग हुन्छ।
सुरुदेखि नै अग्रता बनाएका बालेनलाई स्थापितले काठमाडौंको कोर एरिया पुगेपछि उछिन्ने तर्क गरेका थिए। तर कोर एरियामा पुगेपछि उनी तेस्रो स्थानमा पुगे भने सिर्जना दोस्रोमा उक्लिइन्। उता अर्का स्वतन्त्र उम्मेदवार सुमन साय्मीले पनि कोर एरियामा पुगेपछि १० हजार ३२२ भोट ल्याइसकेका छन्।