विराटनगर । प्रदेश १ का ६ स्थानीय तहले यो निर्वाचनबाट महिला नेतृत्व पाएका छन् । २०७४ को निर्वाचनबाट प्रदेशभरीमा झापाको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले एक मात्र महिला नेतृत्व रहेकोमा यस पटक ६ जना निर्वाचित भएका हुन् ।
झापाको बिर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी पवित्रा महतारा निर्वाचित भएकी छन् । यसअघि उपमेयर रहेकी उनले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतान्तरले पराजित गर्दै मेयर बनेकी हुन् ।
प्रसाईले १६ हजार ५२० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७६२ मत मात्र पाए । ५० वर्षीय महतारा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै मेयर निर्वाचित भएकी हुन् । विर्तामोडमा अघिल्लो निर्वाचनमा मेयर र उपमेयर दुबै एमालेले जितेको थियो ।
यस्तै झापाको गौरिगञ्ज गाउँपालिकामा नेपाली काँग्रेसकी ४५ वर्षीय फुलवती राजवंशी विजयी भएकी छन् । उनले नेकपा एमालेका उम्मेदवार विजय अग्रवाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।
राजवंशीले ५६८९ मत प्राप्त गरेकी छन् भने अग्रवालले ३३३० मत पाए । उनी यसअघि गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी हूँदा काँग्रेसबाट उपाध्क्ष निर्वाचित भएकी उनले उसपटक अध्यक्ष श्रेष्ठलाई तेस्रो स्थानमा धकेलेर अध्यक्ष निर्वाचित भएकी हुन् ।
मोरङको कानेपोखरीमा नेकपा एमालेकी राजमति इङ्नाम नेपाली कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष निर्वाचित भएकी छन् । उनले ८ हजार ९७५ मत ल्याएकी छन् भने भट्टराईले ५ हजार ८४६ मत पाए ।
गाउँपालिकाको निवर्तमान उपाध्यक्ष रहेकी ५२ वर्षीय इङ्नाम भारी मतान्तरले अध्यक्षमा निर्वाचित भएकी हुन् । कानेपोखरीमा अघिल्लो पटक अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको थियो ।
उता सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की विजयी भएकी छन् । उनले १ हजार २६० मतसहित नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतलाई १४७ मतान्तरले पराजित गरेकी हुन्।
बस्नेतले १ हजार ११३ मत ल्याएका छन् । ५४ वर्षीया कार्कीले गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्नेतलाई पराजित गरेकी हुन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ४० वर्षीया विमला राई निर्वाचित भएकी छन्। नेपाली कांग्रेसकी उम्मेदवार राईले एमालेका खडेन्द्र राईलाई पराजित गरेकी हुन्।
बिमलाले ६३१७ मत प्राप्त गर्दा एमाले उम्मेदवार खडेन्द्रले ५९३४ मत पाए । विमला पनि निवर्तमान उपमेयर हुन् । यसअघिको निर्वाचनमा सो गाउँपालिको मेयर र उपमेयर दुबै काँग्रेसले जितेको थियो ।
यस्तै खोटाङकै जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित भएकी छन्। उनले गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका शंकरबहादुर राईलाई पराजित गरेकी हुन् ।
अरुणाले २८८१ प्राप्त गरि विजयी बन्दा एमालेका उम्मेदवार शंखबरबहादुर राईले २५७५ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा अरुण अध्यक्षमा शंखरबहादुरसँगै पराजित भएकी थिइन् । हाम्रोमतबाट