केन्जो खबर,
पाँचथर । पाँचथरका ७ पालिका र १ नगरपालिकामा मतदान स्थलमा तयारी पूरा भएको छ ।मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी राजन सुबेदिका अनुसार शुक्रवार हुने निर्वाचनमा मतदान गर्नका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।
यससँगै वृद्ध वृद्धा , असक्त र गर्भवतीलाई छिटो मतदान गर्न सक्ने गरी व्यवस्था गर्ने या भिड अत्याधिक भए विश्राम स्थलको व्यवस्था गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यससँगै मतदान स्थलबाट नयाँ तथा परिचयपत्र हराएका मतदातालाई परिचयपत्र पनि वितरण भइरहेको छ ।
फिदिम नगरपालिकाका लागि मतगणनास्थलका रूपमा तोकिएको जिल्ला समन्वयन समितिको सभा हलमा विशेष सुरक्षा अपनाइएको छ ।
त्यसै गरी मतगणना स्थलमा सिसीटिभी क्यामेराको व्यवस्थापन गरिएको छ । यदि बिजुली गएमा ब्याक अपको व्यवस्था पनि गरिएको सुबेदिले जनाएका छन्।
मतदान स्थलमा परिचय पत्र लिन आएकाहरु निकै उत्साहित देखिन्थे । नमुना मत परिक्षणमा उत्साहका साथ सहभागी बनेको दृश्य फिदिम नगरपालिका वार्ड नम्बर १ को स्रोत केन्द्रमा देखिन्थ्यो। ६० वटा वार्ड रहेको पाँचथरमामा १ लाख ४० हजार २ सय २४ मतदाता मध्धे ६६ हजार ६ सय ४८ महिला र ७३ हजार ५ सय ७६ जना पुरुष रहेका छन् ।
यहाँ मतदानको लागि १ सय १ मतदान स्थल र १ सय ७६ वटा मतदान केन्द्र तोकिएको छ । २ हजार १ सय सुरक्षा कर्मी र ९ सय ४ जना म्यादि प्रहरी खटाइएको सुरक्षा निकायले जनाएको छ । पाँचथर जिल्लाको १ मात्र नगरपालिका फिदिम नगरपालिकामा जम्मा मतदाता संख्या ३३ हजार ४ सय २२ जना रहेका छन । १४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम समेत हो ।