ओखलढुंगा । ताप्लेजुङमा अवस्थित संसारकै तेश्रो अग्लो शिखर कञ्चनजंघामा शनिबार बिहान नेपाली सेनाको टोली पुगेको छ । नेपाली सेनाले इतिहासमै पहिलोपटक कञ्चनजंघा आरोहण गरेको जनाइएको छ ।
सेनाको अगुवाइमा हिमाल सफाइ अभियान अन्तर्गत गएका क्याप्टेन राजु श्रेष्ठ र सिपाही अमित थापाको टोली बिहान ५ बजेर ५० मिनेटमा शिखरमा पुगेको सफाइ अभियानको ह्यान्डलिङ एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाले जानकारी दिए ।
टोलीमा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक छिरिङ जाङबु शेर्पा, फुर्वा शेर्पा, ङिमा छिरिङ शेर्पा र छेवाङ शेर्पा छन् । दुई नेपाली सेनासहित हिमाल सफाइ अभियानका ६ जना शिखरमा पुगेका हुन् । समुन्द्री सतहदेखि ८ हजार ५ सय ८६ मीटरको कञ्चनजंघालाई प्राविधिक रुपमा आरोहण गर्न कठिन हिमाल भनेर चिनिन्छ ।
ग्त वर्षहरुमाझैं यस वर्ष पनि नेपाली सेनाको अगुवाइमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाइ भइरहेको छ । गत वर्ष यी हिमालहरुबाट १३ हजार किलोभन्दा बढी फोहोर सेनाले संकलन गरेको थियो ।