ताप्लेजुंग । रेड पाण्डा संरक्षणमा सक्रिय ताप्लेजुङको सिरीजंघा ८ याम्फुदिनका सोनाम लामाले विश्व प्रतिष्ठित हवीट्ली फन्ड फर नेचर (डब्लूएफएन) अवार्ड पाएका छन् ।बुधबार राति लण्डनमा आयोजित समारोहमा लामालाई ४० हजार पाउण्ड (करिब ६२ लाख नेपाली रुपैयाँ)सहित सो अवार्ड प्रदान गरिएको हो ।
डब्लूएफएनका संरक्षक सर डेभिड एटनबर्गको उपस्थितीमा बेलायती राजकुमारी एनले लामालाई अवार्ड प्रदान गरिन् ।यो अवार्ड अन्य ५ जनालाई पनि पनि प्रदान गरिएको थियो ।नेटवर्कका नेपाल प्रमुख आङफुरी शेर्पाले लामाले पाएको अवार्डले रेड पान्डाको संरक्षणमा नेपालमा भइरहेको कामको सही मूल्यांकन भएको बताए । उनले भने, ‘यो एकदमै खुसीको कुरा हो । हाम्रा लागि महत्त्वपूर्ण संरक्षणको उपलब्धि हो ।’
हाल पश्चिम नेपालका ७ वटा जिल्लाहरुमा सन् २०१८ देखि नेटवर्कले काम गर्दै आएको छ । हाल नेटवर्कले भोजपुर, सोलुखुम्बु र खोटाङमा संरक्षणको कार्यक्रम लागू हुँदैछ ।लामा आबद्ध नेटवर्कले नेपालका १० वटा रेड पान्डामा जीपीएस कलर जडान गरेर अध्ययन अनुसन्धान गरिरहेको छ ।
नेटवर्कले कञ्चनजंघा भूपरिधिमा ४ सय हेक्टर क्षेत्रमा बासस्थान पुनःस्थापना गरिसकेको छ भने सयभन्दा बढी स्थानीयलाई दक्ष बनाएर नागरिक वैज्ञानिक अवधारणमा संरक्षणको काम समेत गर्दै आएको छ । हाल रेडपान्डा नेटवर्कमार्फत पूर्वी नेपालको इलाम जिल्लामा पुनःस्थापनाको काम भइरहेको उनले जानकारी दिए ।
लामाले न्युजिल्यान्डको लिंकन विश्वविद्यालयबाट नेचर कन्जर्भेसनमा स्नातकोत्तर गरेका छन् ।