लक्ष्मी प्रसाद ढुङगाना
ठीक गर्यौ यो ठाउँमा पाठशाला नबनाएर
नत्र केटाकेटीहरुको कोलाहलले
यो ठाउँको परम शान्ति विथोलिन सक्थ्यो
फेरि पनि ठिकै भयो
यहाँ अस्पताल नबनाएर
नत्र बिरामीहरू र
शव गृहका विभत्स लासहरुका
शोक विह्वल आफन्तको भीड र
तिनका अनिच्छित कर्कश
शोक धुनहरूले
यो ठाउँ प्रदूषित हुन सक्थ्यो
कसरी सहन सक्थे
तिम्रा शान्तिप्रिय कानहरुले
ती कर्कश आवाजहरू
किनकि हामी शान्ति प्रिय पात्र
बुद्धका सन्तान
परम शान्तिको खोजीमा
भौतारी रहन परेन कुनै अमूक भूमि
घर दैलोमा नै
शान्तिको श्वास फेर्न पाएका छौं
टावरबाट वरपरको कालो सुन्दरताको
दृश्यपान गर्न पाएका छौं
दुःखको एक मानु जुटाउन
काखमा दूधे बालक च्यापेर
पसिनाले लपक्कै भिजेको शरीर
खुइय ! सुस्केरा हाल्दै
केवल सय रुपैयाको सस्तो सपनामा
बाध्यताको घन समातेर
एकतमासले गिट्टिकुटिरहेका
झिना हातहरू
केही मलिन अनुहारपनी
डिस्को थेगमा नाच्ने अप्सरा लाग्ने रैछन
स्वादले निहार्न जाने भ्यू टावरबाट
अलिपर तिनै मलिन अनुहारका
केहिथान भन्ट्याङ भुन्टुङहरु
एक प्याकेट फुच्छे चाउचाउमा
भोक विचक्याउँदै
त्यसकै मसला खोसाखोस्
र परम आनन्दको चटाई
कुनै तारे होटलमा
कालिजको मसालेदार रोस्ट चपाउँदै
पब्जी र फ्री फयरमा मस्त
सभ्रान्त बच्चाहरु झै देखिदा रैछन्
निहार्न जाने तिम्रो जादुमयी भ्यू टावरबाट
हिजो सायद देखे थिए होलान जनताले
संघर्षमा समृद्धिको मिठो सपना
धन्य छौं हामी जताततै भ्यू टावर आविष्कार
गरिदिएका छौ
र त
यो अपार समृद्धि हेर्न मिलेको छ
आफ्नै घर आगनबाट
हाम्रै पालामा !