पाँचथर । जिल्ला सुरक्षा समिति पाॅचथरले सुरक्षा संवेदनशीलताको दृष्टिकोणबाट मतदान केन्द्रहरूको वर्गीकरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको समितिको बैठकले पाँचथरको १ सय १ मतदान स्थल केन्द्रमध्ये २७ वटालाई अति संवेदनशील, ६५ वटालाई संवेदनशील र ९ वटालाई सामान्यमा वर्गीकरण गर्दै सुरक्षा योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
फिदिम नगरपालिकाका ९, फालेलुङ गाउँपालिकाका ११, तुम्वेवाको १, फाल्गुनन्दका ३ र मिक्लाजुङका ३ मतदान केन्द्र अति संवेदनशीलमा सूचीकृत गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए ।
उनको अनुसार फिदिम नगरपालिकाका ५, याङवरक गाॅउपालिकाका ९, हिलिहाङका ११, कुम्मायकका १०, तुम्वेवाका ८, फाल्गुनन्दका १२ र मिक्लाजुङका १० वटा केन्द्रलाइ संवेदनशील सूचीमा राखिएको छ । यस्तै, फिदिम नगरपालिकाका ८ र याङवरक गाउँपालिकाको १ गरी ९ वटा मतदान केन्द्र सामान्यको सूचीमा परेका छन् ।