काठमाडौँ । झापाको दहिझोडा सामुदायिक वनमा मृत भेटिएका सरोज शर्माको हत्याबारे अनुसन्धान गरेका इन्स्पेक्टरलाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भिलझिलेका इन्चार्ज सुभाष केसीलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
कात्तिक ९ मा अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडामा मृत भेटिएका शिवसताक्षी नगरपालिका–१० बस्ने ३३ वर्षीय सरोज शर्माको हत्याबारे इन्स्पेक्टर केसीले अनुसन्धान गरेका थिए ।
इन्स्पेक्टर केसी नेतृत्वको टिमले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको थियो । शर्मालाई अपहरण गरेर जङ्गलमा लगेर हत्या गर्ने २७ वर्षीय सुनिल साह र साहका भाञ्जा पर्ने २३ वर्षीय राहुल साहलाई प्रहरीले कार्तिक १४ मा पक्राउ गरेको थियो ।
सरोज शर्माले प्रयोग गरेको गाडी जलाएको अवस्थामा मेचीनगर– १३ मा भेटिएको थियो । उनको शव आरोपीहरूले झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गको पुलमुनि गाडेर व्यवस्थापन गरेको अनुसन्धानबाट थाहा भएको छ । कोशी प्रदेशका डीआईजी ईश्वर कार्कीले इन्स्पेक्टर केसीलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गरेका हुन् ।




