दिपक बोहोरा ।
झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर किकबाट अग्रता बनाउने सुनौलो मौका पायो, तर पुजा रानाको सट संकटाको डिफेन्सले क्लियर गर्यो।
३०औं मिनेटमा संकटा पनि अग्रता बनाउन चुक्यो — भुटानी खेलाडी छिरिंग वाङ्देनको क्रसमा पूर्णिमा राईको ओपन हेडर गोलपोष्ट बाहिरियो।
पहिलो हाफको इन्जुरी समयमा सेनुले दिएको क्रसमा छिरिंगले डिबक्स भित्रबाट सट लिएकी थिइन् तर बल पोस्टको छेउ हुँदै बाहिरियो र खेल ०–० को बराबरीमा सकियो।
दोस्रो हाफमा भने पुलिसले खेलमा पुनः नियन्त्रण जमायो।
७०औं मिनेटमा करिब ३० यार्ड टाढाबाट पुजा रानाले दिएको फ्रिकिकमा मिना देउवाले सटीक हेडमार्फत बल जालीभित्र पठाउँदै टोलीलाई १–० को अग्रता दिलाइन्।
८२औं मिनेटमा संकटा कप्तान यशोधा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले त्यसको फाइदा उठाउँदै अर्को गोल थपिन्।
अन्तिम मिनेटमा सम्झना लावतीले ‘वान–भर्सेस–वान’को अवसर गुमाइन् भने इन्जुरी समयमा सेनुको सट पोस्टको छेउ हुँदै बाहिरिँदा संकटा शान्तवना गोलबाट पनि वञ्चित रह्यो।
बल पोजेसन, पासिङ र फिनिसिङमा पुलिस क्लब प्रभावशाली देखियो भने संकटा निर्णायक क्षणमा कमजोर सावित भयो। यो जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। अब उसले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिँदै आएको छ।
आजको खेलकी ‘प्लेयर अफ द म्याच’ नेपाल पुलिस क्लबकी रेखा पौडेल घोषित भइन्।




