झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टरफाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौंको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। खेल दिउँसो २ बजेबाट सुरु हुनेछ।
दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन्। झापा एफसी आज आफ्नै मैदानमा र आफ्नै समर्थकको उपस्थितिमा खेल्दैछ, जसले टोलीमा थप ऊर्जा र आत्मविश्वास भर्ने अपेक्षा गरिएको छ। स्थानीय दर्शकहरूको उत्साहले घरेलु टोलीलाई जितका लागि थप प्रेरणा दिने विश्वास गरिएको छ।
यसअघि सम्पन्न महिला लिग छनोट प्रतियोगिताबाट दुवै टोली महिला लिगमा छनोट भएका हुन्, जसले आजको भिडन्तलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।
संकटा क्लवको टिममा नेपाल यू–२० राष्ट्रिय टोलीका खेलाडीहरूको बाहुल्यता छ। साथै, टोलीमा भुटानकी राष्ट्रिय खेलाडी छिरिङ याङ्देनको सहभागिताले आक्रमण पंक्तिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
त्यस्तै, झापा एफसीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ। पछिल्लो पटक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न महिला लिग छनोट खेलमा संकटा क्लवले झापालाई ४–० ले पराजित गरेको थियो। त्यस खेलको ‘रिभेन्ज’ लिन झापा आज मैदानमा बदला लिने लक्ष्यसहित उत्रिँदैछ भने संकटा दोस्रो भेटमै पुनः जित निकाल्ने उद्देश्यमा छ।
दर्शकका लागि टिकट दर सामान्यतर्फ १०० र २०० रुपैयाँ, र भिआइपीतर्फ १,००० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ।
यसअघि विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौंले भारतको सिक्किम सिङ्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ।




