पाँचथर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनअघि मेचीदेखि महाकालीसम्म आफ्नो पार्टीको संघठन विस्तार गर्ने घोषणा गरेका छन्।
निर्वाचन आयोगमा पार्टी दर्ता गरेसँगै मङ्गलबार पाँचथर सदरमुकाम फिदिममा आयोजित खुला सभालाई सम्बोधन गर्दै साम्पाङले संघठन विस्तारका योजना प्रस्तुत गरे।
उनका अनुसार, पार्टी दर्ता र संघठन विस्तारसँगै उनी निर्वाचन अभियानमा सक्रिय हुने योजनामा छन्। काम, दाम र नामको आधारमा हुने विभेदका कारण देशको विकास रोकिएको बताएर उनले भने, “कामको सम्मान र भ्रष्टाचार नियन्त्रण हाम्रो संघठनको केन्द्रबिन्दु हुनेछ।”
साम्पाङले काम, नाम र दाम मात्र नभई पदको आधारमा पनि मान्छे ठूलो वा सानो नहुने उल्लेख गर्दै सबैलाई ‘श्रमदाता’ भनेर सम्बोधन गर्ने अभियान सुरु गरेको जानकारी दिए।
उनले देश विकास केवल मिठा भाषणबाट नभई माटोमा श्रम र पसिना बगाएर मात्र सम्भव हुने बताए। २०४६ सालपछि विभिन्न दलको नेतृत्व भएपनि विकास र समृद्धि नआएको भन्दै उनले आगामी निर्वाचनमा पुराना अनुहार छोडेर नयाँलाई मौका दिनुपर्ने विश्वास व्यक्त गरे।
साम्पाङले भने, “चलाएको श्रम अभियानबाटै देश–विदेशले हामीलाई चिन्यो। मेचीका ढुङ्गा उठाएर महाकालीसम्म पुर्याउने गरी संघठन निर्माण गर्नेछौं। यही आधारमा देशको नेतृत्व गर्दै नयाँ मुहार प्रस्तुत गर्नेछौं।”
करिब डेढ घण्टा लामो सम्बोधनमा उनले कांग्रेस, एमाले र माओवादी नेताहरुलाई व्यंग्य गर्दै उपस्थित नागरिकलाई हसाएका साथै आफैले रचेका गीत गाएर समर्थकहरुलाई नचाएका थिए।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट नागरिकहरुको सहभागिता रहेको थियो। साम्पाङले सबै उपस्थितलाई मुठीमा माटो बोक्न लगाएर माटोको लागि कसम खुवाउँदै पार्टी सदस्यता लिएको सपथ दिलाएका थिए।




