बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ क्लब काठमाडौंले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ।
खेलको सुरुवातीदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९औं मिनेटमा सबिता राना मगरको गोलमार्फत अग्रता लियो। त्यसपछि ३८औं मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन्।
पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुइ गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो।
४१औं मिनेटमा रश्मी कुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन्। जससँगै पहिलो हाफ एपिएफको पक्षमा ५–० मा समाप्त भयो।
दोस्रो हाफमा पनि एपिएफको आक्रमण रोकिएन। ७१औं मिनेटमा सबिता राना मगरको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन्।
८४औं मिनेटमा अनिता केसीको पासमा रश्मीले गोल गर्दै ह्याट्रिक पूर्ण गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन्।
सिंग्लिङ स्पोर्टिङ क्लबका सुक्रिया मगरले २१औं मिनेटमा गरेको प्रहार एपिएफकी गोलरक्षक अन्जना रानाले नियन्त्रण गरिन् भने ८०औं मिनेटमा वान–भर्सेस–वानको अवसर पनि सुक्रियाले गुमाइन्।
एपिएफका प्रशिक्षक जिबेस पाण्डेले टोलीले योजनाअनुसार खेल खेलेको बताए।“खेलाडीहरूले सुरुदेखि अन्त्यसम्म सन्तुलित प्रदर्शन गरे, र योजनाअनुसारको फुटबल देखाए,” उनले भने।सिक्किमकी प्रशिक्षक लाकु फुर्वि भुटियाले भने हारलाई सिकाइको अवसरका रूपमा लिइन्।
“हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गरेर फर्किनेछौँ,” उनले प्रतिक्रिया दिइन्।
खेलकी ‘प्लेयर अफ द म्याच’ रश्मी घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्।भोलि हुने दोस्रो क्वार्टरफाइनलमा संकटा क्लब काठमाडौं र झापा–११ एफसीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।




