पाँचथर । दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८२ आजदेखि सुरु हुँदैछ। उद्घाटन खेल सिरहाको सहलेश युवा क्लब र भारतको सिलिगुडी कन्चनजंगा फुटबल क्लबबीच अपराह्न २ बजे हुने तय भएको छ।
सहलेश युवा क्लबले ए–डिभिजनमा खेल अनुभव गरिसकेका नेपालका खेलाडीहरूसहित मैदान उत्रनेछ। माेफसलको उत्कृष्ट क्लबको रूपमा परिचित सहलेश युवा क्लबले स्थानीय फुटबलमा उच्च प्रदर्शन गर्दै आएको छ।
यस संस्करणमा पाँचथरको प्रतिनिधि क्लब पाँचथर क्लब पनि सहभागी रहेको छ। तेस्रो खेलमा पाँचथर क्लब फिदिम र संकटा फुटबल क्लब काठमाडौं आमनेसामने हुनेछन्। दोस्रो खेलमा आयोजक इन्ट्रा पथरी–११ क्लब मोरङ र ब्रिगेड ब्वाइज क्लब ललितपुर भिड्नेछन् भने चौथो खेल एनआरटी फुटबल क्लब काठमाडौं र झापा–११ क्लब झापाबीच हुने छ।
सेमिफाइनल खेलहरू कार्तिक १९ र २० गते, र फाइनल कार्तिक २२ गते शनिबार तय गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख र दोस्रो पुरस्कार दुई लाख पचास हजार रुपैयाँ राखिएको छ। उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई विशेष सम्मान दिइनेछ।
आयोजक इन्ट्रा पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकले भने, “प्रतियोगिता केवल उपाधिका लागि होइन, स्थानीय प्रतिभा पहिचान र फुटबलको विकासका उद्देश्यसहित आयोजना गरिएको हो। यसले पथरीशनिश्चरेलाई प्रदेशस्तरको खेलकुद केन्द्रको रूपमा चिनाउन सहयोग गर्नेछ।”
गोल्डकपले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका क्लबसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै, पथरीशनिश्चरेलाई खेलमैत्री नगरका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।




