फिदिम । नेपाल तरुण दल पाँचथरले आफ्नो ७३औं स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको ८औं तरुण गोल्डकप फुटबल प्रतियोगिता भोलि (कार्तिक १० गते)देखि फिदिममा सुरु हुँदैछ । जिल्ला स्तरको पुरुष नकआउट प्रतियोगिता फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुँदैछ । उद्घाटन खेल ‘ए’ समूह अन्तर्गत कुम्मायक गाउँपालिका र फालेलुङ गाउँपालिकाबीच हुनेछ ।
प्रतियोगितामा दुई समूहका आठ टिम सहभागी छन् ।‘ए’ समूहमा कुमायाक गाउँपालिका, फालेलुङ गाउँपालिका, याङवरक गाउँपालिका र फाल्गुनन्द गाउँपालिका रहेका छन् भने‘बी’ समूहमा हिलिहाङ गाउँपालिका, तुम्वेवा गाउँपालिका, फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिका रहेका छन् ।
प्रतियोगिताको फाइनल खेल कार्तिक १३ गते दिउँसो १ बजे हुने तय गरिएको छ । विजेता टिमले १ लाख १ सय ७३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार १ सय ७३ रुपैयाँ पाउने छन् ।
प्रतियोगिता सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको नेपाल तरुण दल, जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए । उनका अनुसार, खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासन, एकता र नेतृत्वतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो भन्ने धारणा लामाले व्यक्त गरे ।




