पाँचथर । तेस्रो संस्करणको मिक्लाजूङ प्रिमियर क्रिकेट (एमपीएल) २०८२ मा उपाधि कुरुम्बा हिल्स राइडरले जितेको छ । “सबै खेलाडीको एउटै सपना, क्रिकेटको संस्कृति विकास गर्ने चाहना” भन्ने नारासहित असोज २५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लासहित छिमेकी जिल्लाका आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताका सबै खेल मिक्लाजूङ गाउँपालिकाको केन्द्र रबि बजार नजिक रहेको अमरदिप आधाभुत विद्यालयको खेलमैदानमा भएको थियो । ग्रुप ‘ए’ मा पाँचथर क्रिकेट टिम, परुहाङ क्रिकेट टिम, मंगलबारे क्रिकेट टिम र इलाम क्रिकेट टिम रहेका थिए भने ग्रुप ‘बी’ मा डी.जी. याख्खेवा क्रिकेट टिम, सप्तमी क्रिकेट टिम, कुरुम्बा क्रिकेट टिम र रबि कर्मचारी क्रिकेट टिमले प्रतिस्पर्धा गरेका थिए ।
फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मंगलबारे क्रिकेट टिमले ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । जवाफि ब्याटिङमा उत्रिएको कुरुम्बा हिल्स राइडरले १९.२ बलमा लक्ष्य पूरा गर्दै ६ विकेट गुमाएर उपाधि हात पार्यो । विजेताले ५० हजार रुपैयाँ, ट्रफी प्राप्त गरे भने उपविजेताले २५ हजार रुपैयाँ, ट्रफी पाए । प्रतियोगितामा म्यान अफ द सिरिजलाई ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार, र उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याट्सम्यानलाई २/२ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
पाँचथरमा यति ठूलो राशिको क्रिकेट प्रतियोगिता आयोजना भएको पहिलो पटक हो । पहिलो र दोस्रो संस्करणमा पनि स्थानीय खेलाडी र छिमेकी जिल्लाका टोलीले प्रतिस्पर्धा गर्दै क्रिकेटको स्तर अभिवृद्धि गरेका थिए । यस संस्करणले खेलकुदप्रति उत्साह थपाएको छ र स्थानीय प्रतिभालाई उजागर गरेको छ ।