पाँचथर । लगातारको वर्षाका कारण फिदिम नगरपालिका–१२ दुथेनी क्षेत्रमा फेमे खोला थुनिँदा बाढीको जोखिम बढेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ।
कार्यालयका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलद्वारा मंगलबार जारी सूचनामा फेमे खोलामा पहिरो गएर बहाव अवरुद्ध भएको र यसले आसपासका बस्तीमा जोखिम बढाएको उल्लेख गरिएको छ।
प्रशासनले खोलामा अवरुद्ध पानीको निकास हुने क्रममा ठूलो बाढी आउन सक्ने भएकाले फेमे खोलाको आसपासका बासिन्दा तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले सूचनामा भनेका छन्, “फेमे खोलाको आसपासमा बसोबास गर्ने नागरिकहरूले सावधानी अपनाउन र तत्काल खोलातिर आवतजावत नगर्न अनुरोध गरिएको छ।”
जिल्ला प्रशासन कार्यालयले जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मी परिचालन गरी निरन्तर अनुगमन भइरहेको जनाएको छ।