पाँचथर– सरकारले तोकेको मापदण्ड अनुसार बाढी पहिरोबाट ज्यान गुमाएका, घाइते भएका तथा विस्थापितलाई हालसम्म पनि प्रारम्भिक राहत वितरण हुन् सकेको छैन् । केही स्थानीय तह र रेडक्रसले केही ठाउँबाहेक राहत वितरण हुन् सकेको छैन।
जिल्ला विपद् व्यवस्थापन समिति मार्फत उपलब्ध गराउने प्रारम्भिक राहत पीडित समक्ष पुगेको छैन । केही स्थानीय तहले फ्याट फुट्टु खाद्यान्न सहित सीमित सामग्री प्रदान गरेपनि अधिकांशले राहत वितरण गरेका छैनन् ।
पाँचथरमा बाढी र पहिरोले दुई जनाको मृत्यु भएको थियो । इलाममा पहिरोमा परी तीन जनाको पाँचथरका नागरिकको मृत्यु भएको थियो । सरकारले मृतकलाई १ लाख रुपैयाँ, घाइतेलाई उपचार खर्च, पूर्ण विस्थापितले प्रारम्भिक राहत समेत पाएका छैनन् । इलाममा मृत्यु भएकाको पनि जिल्लाबाट राहत दिनु पर्ने हुन्छ ।
तुम्बेवा–४ की कान्छीमाया शेर्मा पहिरोमा र फाल्गुनन्द–३ का मिसेक नेम्बाङको बाढीले बगाएर मृत्यु भएको थियो । इलाममा मिक्लाजुङकी नेहा राई, फाल्गुनन्दका सौजन लिम्बु र सौगत लिम्बुको मृत्यु भएको थियो । उनीहरू पाहुना गएका थिए ।
विपद् व्यवस्थापन समितिले राहत वितरण सुरु गरेकै छैन । ‘घटना भएकै दिन स्थानीय तहमा खबर पठाएका छौँ । उहाँहरू सम्पर्कमा आहिसक्नु भएको छैन’ पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने ‘कागजात आएपछि रकम जम्मा गर्दिन्छौँ ।’
वितगमा पीडितकै राहत वितरण गरिने गरिन्थ्यो । पूर्ण विस्थापितको यकिन तथ्याङ्क अझैसम्म पनि सङ्कलन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय पाँचथरको रेकर्ड अनुसार पाँचथरमा ४ जना घाइते र १७ परिवार पूर्ण विस्थापित भएका छन् । उच्च जोखिममा २४ परिवार रहेका छन् ।
तर अझैपनि विवरण सङ्कलन भई नसकेको स्थानिक तहहरुकाे भनाई छ । विभिन्न क्षेत्रमा सडकहरू अझै अवरुद्ध छन् ।
फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार भटराईका अनुसार २० परिवार पूर्ण विस्थापित भन्ने तथ्याङ्क आएपनि अझै विवरण सङ्कलन भइसकेको छैन ।
जिल्लाका विभिन्न क्षेत्र जोड्ने सडक अझै सुचारु हुन सकेको छैनन् । फिदिम–फालोट खण्डको फेमे खोला सञ्चालनमा आउन सकेको छैन । फिदिम– रानीटार–लुङरुपमा खण्डमा नाम्दुखोलाको डाईबर्सन र त्रिवेणीको पुल बगाएपछि यातायत अवरुद्ध छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा अझै बाटो खुल्न बाँकी रहेको छ ।