इलाम । भौतिक योजना तथा पुनर्निर्माण मन्त्री कुलमान घिसिङ शनिबार बाढी–पहिरो प्रभावित इलामको अवलोकनमा गएका छन् ।
हालैको भीषण वर्षापछि इलामका विभिन्न स्थानमा व्यापक जनधनको क्षति भएपछि सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मन्त्री घिसिङ प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत निरीक्षणमा बिहान झापा हुँदै इलामतिर प्रस्थान गरेको झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनाए ।
मन्त्री घिसिङले इलाम १० राजदुवालीका बाढी पीडितलाई भेट्ने र राहत वितरण गर्ने कार्यक्रम छ । त्यस्तै राजदुवाली सडक, मिल घुम्ति लगायत क्षेत्रको सडक अवलोकन गर्ने कार्यक्रम छ ।
मन्त्री घिसिङले इलाम नगरपालिका–१० राजदुवाली, सन्दकपुर, माईजोगमाई लगायतका प्रभावित बस्तीहरूमा पुगेर स्थानीयवासीसँग क्षतिग्रस्त संरचना, सडक, पुल–पुलिया र राहत व्यवस्थाको स्थिति बुझ्ने बताइएको छ ।
उनले प्रभावित नागरिकलाई राहत, पुनर्वास र पुनर्निर्माणमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ’सरकार प्रभावित नागरिकसँगै छ। तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ,’ मन्त्री घिसिङले बताएका छन्।
स्थानीय जनप्रतिनिधि, प्रशासनिक अधिकारी र सुरक्षाकर्मीहरू पनि मन्त्रीको टोलीसँगै रहेका थिए । बाढी र पहिरोका कारण इलाममा ३९ जनाको मृत्यु भएको छ । दर्जनौं सडक भासिएका छन् । दर्जनौं बस्ती जोखिममा परेका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।