पाँचथर । लगातारको वर्षा र पहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएपछि फिदिमबाट तराई झर्नका लागि राँके–रवि–दमक बाटो वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भएको छ।
फिदिमबाट राँकेसम्म ३३ किलोमिटर, राँकेदेखि रविसम्म २६ किलोमिटर र रविबाट दमकसम्म ४७ किलोमिटर गरी कुल १०६ किलोमिटर दूरीमा यो बाटो पर्छ। बाटो कच्ची भए पनि अहिले सवारीसाधन सञ्चालन गर्न मिल्ने रवि–दमक यातायात सञ्चालन गर्ने व्यवसायीहरूले बताएका छन्।
उनीहरुका अनुसार मेची राजमार्ग र तमोर करिडोर दुबै अवरुद्ध भएकाले यात्रुहरूलाई वैकल्पिक रूपमा राँके–रवि–दमक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। पहिले फिदिमबाट मध्यपहाडी लोकमार्ग हुँदै धरान, इटहरी, बिर्तामोड पुग्ने विकल्प प्रयोगमा आए पनि त्यो बाटो लामो हुने भएकाले हाल राँके–रवि–दमक मार्ग पाँचथर र ताप्लेजुङका यात्रुका लागि बढी उपयुक्त भएको बताइएको छ।
स्थानीय चालकहरूका अनुसार बाटो केही ठाउँमा कठिन भए पनि सवारी गुडाउन सकिने अवस्था छ र नियमित मर्मतपछाडि अझ सहज यात्रा सम्भव हुने अपेक्षा गरिएको छ।