पाँचथर ।निरन्तरको वर्षासँगै आप्तङवा खोलामा आएको बाढीले फिदिम–शिवालय–रानिटार–लुङ्रुरुपा सडक अन्तर्गतको त्रिबेणी पुल बगाएको छ। पुल बगाएपछि फिदिम–७ र फिदिम–१३ बीचको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्थानीय बासिन्दाका अनुसार, खोलामा पानीको बहाव अत्यधिक भएपछि पुलले थेग्न नसकी बगाएको हो। पुल बगेसँगै दैनिक आवागमनमा निर्भर रहेका स्थानीयहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन्। बिरामी बोकेका सवारीसाधन तथा कृषि उत्पादन ओसारपसारमा समेत गम्भीर असर परेको छ।
प्रशासनले जोखिमयुक्त क्षेत्रमा आवत–जावत नगर्न आग्रह गर्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। साथै, दैनिक उपभोग्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न वैकल्पिक ढुवानी मार्गको खोजी भइरहेको छ।
यसबीच, प्रभावित क्षेत्रका बासिन्दाले यथाशीघ्र स्थायी समाधानको माग गरेका छन्। उनीहरूले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै दीर्घकालीन पूर्वाधार योजना ल्याउन सरकारसँग आग्रह गरेका छन्।