पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडकखण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो सडकबाट करिब ५०० मिटर तल तमोर खोलाको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार, दुर्घटनामा परी मृत्यु हुने सबै ताप्लेजुङका रहेका छन्। घटनास्थलमै ५ जनाको मृत्यु भएको र उपचारका क्रममा एक जनाको थप मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए।
मृतकहरूमा मेरिङ्देन गाउँपालिका–५ की २८ वर्षीया मनिषा कार्की, सोही वडाका २५ वर्षीय धनकुमार लिम्बू र ३२ वर्षीय अभिषेक लिम्बू, गाउँपालिका–४ की २१ वर्षीया गीता हाङगाम, वडा नं. २ का ३३ वर्षीय बिनोद लुङवा र सिदिङवा गाउँपालिका–१ की २९ वर्षीया युना तामाङ छन्।
त्यस्तै, घाइतेमा मेरिङ्देन गाउँपालिका–५ का २२ वर्षीय महेश लिम्बू, मिक्वाखोला गाउँपालिका–४ की २५ वर्षीया मनु साँवा लिम्बू, कालिखोलाका ७ वर्षीय अनिश लिम्बू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाई, मेरिङ्देन–५ का २५ वर्षीय बिमल लिम्बू र मिक्वाखोला–४ का २९ वर्षीय सञ्जुहाङ लिम्बू रहेका छन्।
घाइतेमध्ये पाँच जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल)मा भइरहेको छ भने एक जनाको उपचार फिदिम अस्पतालमा जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरू उद्धारमा खटिएका छन्। पहाडी मोड र भिरालो सडक खण्ड भएकाले उद्धारमा कठिनाइ भएको र दुर्घटनाको विस्तृत कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।