पाँचथर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट शनिबार बिहान धरानका लागि छुटेको बोलेरो जिप पाँचथरको कुम्मायक–३ कार्तिके, तमोर करिडोर सडकखण्डमा दुर्घटना भएको छ। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मृतकमा ३ महिला र ३ पुरुष रहेका छन्। मृतक र घाइतेहरूको पहिचान अहिलेसम्म खुलेको छैन। घाइतेमध्ये ५ जनालाई एम्बुलेन्समार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) पठाइएको छ भने १ जनाको उपचार फिदिम अस्पतालमा भइरहेको छ। गाडी करिब ५०० मिटर तल खसेको अनुमान गरीएकाे छ ।
दुर्घटनास्थलमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय प्रहरी र स्थानीयवासी खटिएका छन्। प्रहरीले भने अनुसार दुर्घटनामा के कति मानविय क्षति भयो र गाडीमा कति सवार थिए भन्ने एकिन जानकारी अहिलेसम्म छैन।
घटनास्थल पहाडी मोड र भिरालो भूभागमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार सडक साँघुरो र ओरालो भागमा गाडीको नियन्त्रण गुम्दा दुर्घटना भएको अनुमान गरिएको छ।