पाँचथर । तमोर करिडोरअन्तर्गत पाँचथरको कुम्मायक–३ कार्तिकेमा शनिबार बिहान जीप दुर्घटना हुँदा छ जना घाइते भएकाे प्रारम्भिक जानकारी आएकाे छ । धरानबाट ताप्लेजुङतर्फ जाँदै गरेको बलेरो जीप तमोर नदीको किनारमा करिब ५०० मिटर तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनामा घाइते पाँच जनालाई थप उपचारका लागि धरान पठाइएको छ भने एक जनाको उपचार फिदिममा भइरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कुमार कर्णले जानकारी दिए। उनका अनुसार, दुर्घटनास्थल अत्यन्तै भिरालो भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
“प्रहरी घटनास्थलमा पुगेको छ, स्थानीयवासीको सहयोगमा बाँकीको खोजी तथा उद्धार कार्य जारी छ,” डिएसपी कर्णले भने।
दुर्घटनाको कारण प्रारम्भिक रूपमा खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।