पाँचथर । पाँचथर जिल्लामा अहिलेसम्मकै सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता असोज २५ गतेदेखि सुरु हुने भएको छ । “सबै खेलाडीको एउटै सपना, क्रिकेटको संस्कृति विकास गर्ने चाहना” भन्ने नारासहित मिक्लाजुङ प्रिमियर लिग (एमपीएल) २०८२ आयोजना गर्न लागिएको हो । प्रतियोगितामा जिल्लासहित छिमेकी जिल्लाका आठ टोली सहभागी हुँदै प्रतिस्पर्धा गर्नेछन् । यसअघि पाँचथरमा यति ठूलो राशिको क्रिकेट प्रतियोगिता आयोजना भएको थिएन । प्रतियाेगिता रबि बजारमा हुनेछ ।
प्रतियोगितामा ग्रुप ‘ए’ मा पाँचथर क्रिकेट टिम, परुहाङ क्रिकेट टिम, मंगलबारे क्रिकेट टिम र इलाम क्रिकेट टिम रहेका छन् भने ग्रुप ‘बी’ मा डि.जी. याख्खेवा क्रिकेट टिम, सप्तमी क्रिकेट टिम, कुरुम्बा क्रिकेट टिम र रबी कर्मचारी क्रिकेट टिमले प्रतिस्पर्धा गर्नेछन् । तालिकाअनुसार असोज २५ गते बिहान ९ बजे कुरुम्बा क्रिकेट टिम र रबी कर्मचारी क्रिकेट टिमबीच उद्घाटन खेल हुनेछ । सोही दिन दिउँसो डि.जी. याख्खेवा क्रिकेट टिम र सप्तमी क्रिकेट टिम आमनेसामने हुनेछन् । त्यसैगरी, असोज २६ गते बिहान पाँचथर क्रिकेट टिम र परुहाङ क्रिकेट टिम तथा दिउँसो मंगलबारे क्रिकेट टिम र इलाम क्रिकेट टिमबीच खेल हुने कार्यक्रम छ ।
प्रतियोगिताका सेमिफाइनल असोज २७ गते बिहान र दिउँसो गरिनेछ भने फाइनल खेल असोज २८ गते दिउँसो १२ः३० बजे हुनेछ । आकर्षक पुरस्कार राशिसहित आयोजना गरिएको एमपीएलमा विजेताले ५० हजार रुपैयाँसहित पदक र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँसहित पदक र ट्रफी हात पार्नेछन् । यसैगरी, म्यान अफ द सिरिजलाई ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार र सिरिजका उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याट्सम्यानलाई २/२ हजार रुपैयाँ प्रदान गरिनेछ ।
आयोजक समितिले जिल्लामा यति ठूलो राशिको क्रिकेट प्रतियोगिता पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै यसले क्रिकेट खेलप्रतिको आकर्षण बढाउने र स्थानीय प्रतिभालाई उजागर गर्ने विश्वास व्यक्त गरेको छ । साथै, प्रतियोगिताले पाँचथर मात्र नभई सम्पूर्ण क्षेत्रमा क्रिकेटको स्तर अभिवृद्धि गर्ने अपेक्षा लिइएको छ ।