१३ करोडमा ठेक्का लागेको पुल निर्माण सम्पन्न हुन ढिलाइ हुँदा यो क्षेत्रका बासिन्दाले दु:ख त पाइरहेका छन्, अर्कातिर नेपालको विकास प्रक्रिया गिज्याउने एउटा उदाहरण पनि बनेको छ । केहीपटक लामो समय ठेकेदार सम्पर्कमा नआउँदा पनि ठेक्का तोडिएको छैन । गजब त यो छ कि सार्वजनिक खरिद ऐनको १४औँ संशोधनले पुनः एक वर्ष म्याद थपिएको छ ।
२ सय मिटर लामो पुल बनाउने काम अघि बढेको थियो । सडक डिभिजन कार्यालय धनकुटामार्फत स्वच्छन्द निर्माण सेवाले काम गर्ने गरी ठेक्का लागेको थियो । ‘अहिले ठेकेदार सम्पर्कमा आएको छ । १४औँ संशोधनले एक वर्ष म्याद थपिएको छ,’ सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख रामुकमार देवले भने, ‘यो वर्ष काम सकिन्छ ।’ पटकपटक दवाब सिर्जना गर्दा पनि पुलको काम सम्पन्न हुन सकेको छैन ।
लुमघाटजस्तै पूर्वी पहाडी जिल्लामा पुल निर्माणको काममा ढिलाइ भएको देखिन्छ । कतै ठेकेदारका कारण त कतै सरकारले बजेट दिन नसक्दा पुलको काममा ढिलाइ हुन गरेको छ । लामो समयसम्म काम सम्पन्न नहुँदा बनाइएका संचरना बिग्रिँदै जाने त होइनन् भन्ने प्रश्न उठ्ने गरेको छ ।
‘पुल नबन्दा साह्रै दु:ख पाइयो । वारिपारि गाडीको बाटो छ, पुल बन्छ–बन्छ भनेको धेरै वर्ष भयो,’ कुम्मायकका परशुराम दाहालले भने, ‘१३ वर्षअगाडिदेखि बनाउन थालेको छ । पुरानो काम त बनिसक्दा बिग्रिने हो कि ?’
उनकै छेउमा रहेका गौरीमान माझीले भने यत्रो वर्ष हुँदा एउटा पुल पनि बन्न नसक्नु ठूलो लापर्वाही हो, देशमै उदाहरण बनाए ।
तमोर कोरिडोरअन्तर्गत पाँचथरको सुभाङ खोलादेखि नेपाल–चीन सिमाना टिप्तालासम्म १६ वटा पुल बनाउन ठेक्का लगाउनुपर्ने भए पनि अझैसम्म लागेको छैन । यो खण्डमा बनिरहेका दुईवटा पुल सकिएका छैनन् । बजेटको अभाव भइरहेको उत्तर दक्षिण लोकमार्ग कार्यालय ताप्लेजुङका प्रमुख सिंहबहादुर विष्टले बताए । यो खण्डको तमोरको लिम्बुनी पुल २०७४ सालमा ठेक्का लगाइएको भए पनि अझै सकिएको छैन ।
तमोर कोरिडोरको मूलघाट–गणेचोक खण्डमा आठवटा पुलको ठेक्का लगाइए पनि काम भने सुस्त छ । कतै बीचैमा काम छोडिएको छ, कतै काम नै सुरु भएको छैन । प्रायः पुलको कामको म्याद थपिए पनि कामको गति छैन । पुल सेक्टर कार्यालय इटहरीबाट ठेक्का लगाइएका यी पुलहरूमा बजेट अभाव रहेको बताइन्छ । यही बहानामा ठेकेदारले पनि काम ढिलो गरिरहेका छन् ।
पुल सेक्टर कार्यालय इटहरीका सूचना अधिकारी आविष्कार तिम्सिनाका अनुसार धेरै पुलको काममा बजेट पर्याप्त छैन् । यो खण्डमा गाडी बाक्लो चल्ने भए पनि बर्खायाममा निक्कै सास्ती भोग्नुपरेको छ । कतिपय पुलको काम शून्य अवस्थामा छ । बीचैमा छाडिएका काम पुनः सुचारु गर्दा गुणस्तर के हुने भन्ने प्रश्न उब्जिएको पाइन्छ । यो कार्यालयले २९ वटा पुलको ठेक्का लगाए पनि सबैको भुक्तानी गर्न नसकेको बताएको छ ।
यसअघि ठेकेदारले काम गरेको तिर्न बाँकी तीन करोड रहेको तिम्सिनाले बताए । अघिल्लो आर्थिक वर्षमा बजेट अभाव देखाउँदै धेरै पुलको काम हुन सकेन ।
अधुरा पुल कहिले पूरा हुने भन्ने अन्योल छ । कतै बजेटको अभाव छ । बजेट हुँदा पनि काम नगर्ने ठेकेदारको प्रवृत्ति उस्तै छ ।
हरेक बर्खा बग्दैछन् पुल
साउनको पहिलो साता ताप्लेजुङ फाक्ताङ्लुङ गाउँपालिमा हेल्लोक खोलामा रहेको बेलिब्रिज बाढीले बगायो । चार वर्षअगाडि बनाइएको बेलिब्रिज बाढीले बगाएको हो । गत वर्ष पाँचथरमा हेवा खोलाको बेलिब्रिज, फेमे खोलाको पुल र मध्यपहाडी लोकमार्गका तीनवटा पुल बाढीले बगायो ।
२०८१ असोजको बाढीपहिरोले देशभर १४६ पुलमा क्षति पुर्याएको तथ्यांक विपद् प्राधिकरणसँग छ ।
२०८० सालमा पाँचथरको हेवा खोलामा बाढीले पाँचवटा पुल बगायो । योमध्ये मेची राजमार्गमा मोडुलर ब्रिज र फालेलुङ गाउँपालिकामा मात्र बेलिब्रिज बनाइएको छ । अन्यत्र पूर्ण निर्माण हुन सकेको छैन । सोही साल मध्यपहाडी लोकमार्गमा एउटा पुल बगाएको थियो ।
बर्सेनि पुल बगाउन थालेपछि डिजाइनमै समस्या छ या बाढीपहिरोको बढ्दै गएर यस्तो भएको हो भन्ने प्रश्न उब्जिएको छ । काम सुरु गरेर ढिलो गरी सम्पन्न हुने पुलको गुणस्तरमा पनि प्रश्न उठ्न थालेको छ ।
पहाडका कुनामा बनाइएका तथा होँचा पुल जोखिममा परिरहेका छन् । ‘पुल बनाउँदा अनुमान गरेभन्दा ठूलो बाढी खोलामा आइरहेको अवस्था छ । जलवायु परिवर्तनका कारण पानी पर्ने तरिका फेरिएको छ । पछिल्लो समयमा संकट देखिएको छ । ठूलो पानी आएर धेरैवटा पुलमा क्षति पुगिरहेको छ,’ सडक डिजिभन कार्यालय इलामका प्रमुख पवन भट्टराईले भने, ‘हामीले खनिरहेका बाटो तथा विकासको तरिकाले पनि असर पारिरहेको छ ।’
सरकारले निकै खर्च गरेर बनाएका पुलहरू बगाइरहेको छ । पुलको डिजाइनमा नै समस्या छ कि भनेर अध्ययन भएको देखिँदैन । बर्सेनि क्षति पुगे पनि सम्बन्धित सरकारी निकायको ध्यान पुगिरहेको देखिँदैन । बर्खामा समस्या पर्ने, हिउँदमा आनन्दै बस्ने गरेको पाइन्छ । पुल बगाएपछि अस्थायी डाइभर्सनका नाममा बर्सेनि खर्च हुन्छ । पुनः निर्माणको काम पनि तत्काल हुन सकिरहेको देखिदैन ।
२०७२ सालको भूकम्पपछि समस्या भएको पूर्वाधार कार्यालय पाँचथरका प्रमुख शैलेन्द्रकुमार सिंह बताउँछन् । पुलको फाउन्डेसनमा बाढीले असर पारिरहेको उनको भनाइ छ । विदेशमा भएको डिजाइन कपि गरेर यहाँ डिजाइन बनाउँदा समस्या भएको हो कि भन्ने शंका गर्न सकिने सिंहको भनाइ छ ।




