फिक्कल (इलाम)
पर्यटकीय र आर्थिक दृष्टिले महत्वपूर्ण मानिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल अहिले सुनसान बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३३ वटा उडान मात्र भरेको यो विमानस्थल गत जेठयता एक पनि उडान हुन सकेको छैन।
विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर विमानले पहिलो परीक्षण उडान गरेको यस विमानस्थलबाट सुरुमा सातामा दुईपटक उडान हुँदै आएको थियो। इलाम नगरपालिकाले तारा एयर र पछि नेपाल एयरलाइन्ससँग सम्झौता गरेर खाली सिटको भाडा पुर्ताल गर्दै नियमित उडानको व्यवस्था मिलाएको थियो। तर पछिल्लो समय नगरपालिकाले कुनै सम्झौता नगरेपछि उडान ठप्प भएको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए।
नेपाल एयरलाइन्सले सम्झौता सकिएपछि पनि शनिबार साप्ताहिक उडान भर्दै आएको थियो। तर मौसमको प्रतिकूलताका कारण २०८२ जेठ १४ गतेदेखि उडान रोकिएको विमानस्थल इलामका स्टेशन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए।
इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानका अनुसार नगर कार्यपालिकामा पटक–पटक विषय उठाइए पनि कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै दीर्घकालीन समाधान बन्न नसकेको हो।
करीब ३२८ रोपनी क्षेत्रफलमा फैलिएको यस विमानस्थलको ६७० मिटर लामो र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भए पनि स्थायी टर्मिनल भवन, पहुँचमार्ग, तारबारलगायत संरचना अझै अधुरा छन्। हालसम्म स्थानीयको करिब ४ करोडसहित २८ करोडभन्दा बढी रकम खर्च भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेकाे यो विमानस्थल २०७८ साल फागुन १ गते उद्घाटन गरिएको हो। तर तीन महिनादेखि जहाज नउडेपछि इलामसहित पूर्वी पहाडीका बासिन्दा अझै पनि झापा वा विराटनगर हुँदै काठमाडौँ आवत–जावत गर्न बाध्य छन्।




