काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सबै सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
बिहीबार सञ्चार मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमासमेत नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको स्रोतले टेकपानालाई जानकारी दियो ।
सरकारले पछिल्लोपटक दिएको सात दिनको म्याद बुधबार राति १२ बजेसम्म पाँच ओटा सामाजिक सञ्जाल मात्रै सूचीकरण भएका छन् । त्यसबाहेकका अरु सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय मन्त्रालयले गरेको छ ।
सञ्चार मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जालहरूलाई सञ्चार मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना निकालेर सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई सात दिनको म्याद दिएको थियो ।
तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा त्यसका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय सरकारले गरेको थियो ।
सञ्चार मन्त्रालयका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । टेलिग्राममाथि प्रतिबन्ध लगाएपछि उसले सूचीकरणका लागि सञ्चार मन्त्रालयमा निवेदन दर्ता गरेको छ । त्यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।




