ताप्लेजुङ । सिराहाको सलहेश युवा क्लब तेस्रो ताप्लेजुङ गोल्डकपको च्याम्पियन बनेको छ । सलहेशले शनिबार भानुजन माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लबलाई २-० ले पराजित गर्यो । जितसँगै सलहेशले नगद ७ लाख २ हजार ८२ प्राप्त गर्दा चर्च ब्वाइजले ३ लाख ५० हजार ८२ रुपैयाँमा चित्त बुझाएको छ । अघिल्लो संस्करणमा सलहेश फाइनलमा पराजित भएको थियो ।
सलहेशको जितका लागि सुनिल खड्का र युसुफ मलिकले गोल गरे । दोस्रो हाफमा सुनिलले सुरुवाती गोल गरेका थिए भने खेलको अन्तिम समयमा युसुफले गोल गरेर जित निश्चित गरे । फाइनल खेलको प्लेयर अफ दी म्याच सलहेशका सुनिल खड्का भए । उनले नगद ७ हजार पाए ।
आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबका गोलरक्षक सुहाङ लिम्बू उदीयमान खेलाडी चुनिए । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी सहलेशका छिरिङ गुरूङ भए । उनले एक थान मोटरसाइकल पाए । सलहेशकै युसुफ मलिक सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक रेम्बो चौधरी, उत्कृष्ट प्रशिक्षक राजिव यादव भए । यस्तै, चर्च ब्वाइजका आकाश राई उत्कृष्ट फरवार्ड, उत्कृष्ट रक्षक आविष्कार खड्का र युवराज ढकाल उत्कृष्ट मिडफिल्डर भए । विधागत पुरस्कार विजेताले जनही १५ हजार र ट्रफी पाए ।
बलाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरेको उक्त प्रतियोगितामा आठ टोली सहभागी थिए ।