पाँचथर । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित प्रस्तावित शिक्षा विधेयकका केही प्रावधान निजी विद्यालयविरुद्ध रहेको भन्दै निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) ले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। यसअन्तर्गत पाँचथरमा पनि तयारी सुरु भएको छ।
प्याब्सनले २०८१ साउन २७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकबाट आन्दोलनको निर्णय गरेको हो। बैठकले एन–प्याब्सनलगायतका सरोकारवाला संस्थासँग संयुक्त छलफल गरी प्रदेश, जिल्ला तथा पालिका तहमा आन्दोलन कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालेको छ।
पाँचथर प्याब्सनका अध्यक्ष नविन ओझाका अनुसार आन्दोलन साउन २९ गतेदेखि भदौ १० गतेसम्म चल्नेछ। पहिलो चरणमा साउन २९ गते गाउँपालिका र नगरपालिकाका अध्यक्ष तथा शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाइनेछ। त्यसपछि साउन ३० गते बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
भदौ २ गते बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइनेछ भने भदौ ५ गते आगामी निर्वाचनमा उम्मेदवार हुने सांसदहरूलाई ज्ञापनपत्र बुझाइनेछ। भदौ ७ गते बिहान ८:३० बजे राष्ट्रिय पदाधिकारीहरूको जुम बैठक हुनेछ। त्यसपछि भदौ ८, ९ र १० गते क्रमशः पालिका, जिल्ला र प्रदेशस्तरीय समितिहरूको आन्दोलन तयारी बैठक हुने प्याब्सनले जनाएको छ।
संगठनले आवश्यकता अनुसार थप आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिंदै यस अवधिमा हुने अन्तरक्रिया, छलफल तथा तयारीलाई प्रभावकारी बनाउन सबै तहका समितिलाई सचेत रहन आग्रह गरेको छ।