फिदिम । अबिरल वर्षापछि आएको बाढी–पहिरोका कारण मेची राजमार्गसहित पाँचथरका आधा दर्जनभन्दा बढी सडक अबरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढी–पहिरोले जिल्लाका आठ स्थानमा यातायात अवरुद्ध गरेको हो।
फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ स्थित हेवा खोलाको डाइभर्सन बाढीले बगाएपछि मेची राजमार्ग बुधबार बिहानदेखि अबरुद्ध भएको छ। त्यस्तै, फिदिम–१ र ११ स्थित फेमे खोलामा आएको बाढीले डाइभर्सनसम्म पुग्ने पहुँचमार्ग बगाएपछि फिदिम–फलोट सडक पनि बुधबार बिहानदेखि बन्द भएको हो।
फालेलुङ–५ लुदिनटार र फालेलुङ–३ तथा ७ को संगमस्थल घुमाउनेटारमा पनि हेवा खोलामा आएको बाढीले सडक अबरुद्ध पारेको छ।
मिक्लाजुङ गाउँपालिका–३ थामथुम र देउरालीमा भित्रि सडक पहिरोले अवरुद्ध भएको छ। यस्तै, याङवरक गाउँपालिका–३ स्थित रिजाल भीरमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग रोकिएको थियो। उक्त पहिरो पन्छाएपछि हाल यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीले जानकारी दिए।