ताप्लेजुङ । ‘तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप प्रतियाेगिताकाे अन्तिम क्वार्टरफाइनलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरले लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाट विदा लिएको छ। मंगलबार सलहेस क्लब सिराहासँग ६–० गाेलले हार ब्याेहाेरेकाे हाे ।
फिदिमले गोलदेखि लिएर प्रतिरक्षा र रणनीतिसम्म सबै क्षेत्रमा कमजोर प्रदर्शन गर्यो, जसले टोलीको तयारी र क्षमतामा गम्भीर प्रश्न खडा गरेको छ। सदिया आदमले पाँचौँ मिनेटमा गोल गर्दै सिराहालाई अग्रता दिलाए। त्यसपछि फिदिमले खेलमा सम्हालिन सक्न सकेन र ३५औँ मिनेटमा सुजित बुढाथोकी, ३७औँ मिनेटमा युसुफ मलिकले लगातार गोल गरे। चौथो गोल भने फिदिमकै आत्मघाती गल्तीबाट सिराहाले पायो।
६६औँ मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ५–० पुर्याए भने ८०औँ मिनेटमा मोहित गुरुङले अन्तिम गोल थप्दै फिदिमलाई निराश बनाए। खेलको प्लेयर अफ दी म्याच दुई गोल गरेका सलहेशका युसुफ मलिक भए । । फिदिमको कमजोर प्रक्षापंक्ति, खेलाडीहरूबीचको तालमेल अभाव, ट्याक्टिकल कमजोरी र मानसिक स्थिरतामा कमी यस भारी हारको मुख्य कारण बनेका छन्। खेलमा सुरुवाती गोल पछि फिदिमको मनोबल खस्कँदा टोलीले कुनै प्रभावकारी आक्रमण वा रक्षा देखाउन सकेन।
यस जितसँगै सिराहाले सेमिफाइनल स्थान पक्का गरेको छ। सिराहा अब साउन २९ गते रेड स्टार झापासँग भिड्नेछ। झापाले अर्को क्वार्टरफाइनलमा पोखराको सहारा क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो। पहिलो सेमिफाइनलमा समूह ‘ए’का द यङ ब्रदर्स क्लब इटहरी र चर्च ब्वाइज क्लब ललितपुर भिड्ने छन्।
आयोजक लाखे जात्रा सञ्चालन समितिले सेमिफाइनलपछि विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने बताएको छ। प्रतियोगिताको विजेताले रु ७ लाख २ हजार ८२ र उपविजेताले रु ३ लाख ५० हजार ८२ पुरस्कार पाउनेछन्।