ताप्लेजुङ । गण्डकी प्रदेशको साहारा क्लब पोखरा तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमै रेडस्टार क्लब झापासँग २–० गोल अन्तरले पराजित हुँदै बाहिरिएको छ। सविन लुङ्गेली मगरले दुवै गोल गर्दै झापालाई सेमिफाइनलमा पुर्याए।
ताप्लेजुङको भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। खेलको ७७ औँ मिनेटमा मगरले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए भने इन्जुरी समयको ९२ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल गरे।
दुई गोलको उत्कृष्ट प्रदर्शनपछि मगर ‘प्लेयर अफ दि म्याच’ घोषित भए। लाखे जात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँ र ट्रफी पाउनेछ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइनेछ।
भोलिको खेलमा चर्च ब्वाइज काठमाडौँ र लिजेण्ड फुटबल एकेडेमी (शिलिगुडी, भारत) बीच प्रतिस्पर्धा हुनेछ।